खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ। मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सिएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए।
ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सिएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ। अहिले मेलम्ची खानेपानी आयोजना अन्योलमा छ। उनीहरुबीच अन्य बिषयमा पनि बिबाद बढ्दै गइरहेको थियो ।
मन्त्री बिना मगरले सचिव ठाकुर मन्त्रालयको योजनाअनुसार नचलेका कारण थुप्रै कामहरु अलपत्र परेको आरोप लगाउदै आएकी थिइन् भने ठाकुरले मन्त्री आफुसँग बिना कारण असन्तुष्ट बन्दै गएको बताउदै आएका थिए ।
मन्त्री मगर र सचिवको ठाकुरबीचको उक्त विवादका कारण उनको सरुवा हुने पक्कापक्की यसअघि नै भएको अन्य कर्मचारीहरुको अनुमान थियो । यसरी आफु भने बमोजिमको काम नगर्दा मन्त्री मगरले अन्य सचिव र कर्मचारीहरुलाई पनि सरुवा गर्न सक्ने बताइएको छ ।
यस्तै घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ।
महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने राय दिएलगत्तै अख्तियारले मंगलबार छानबिन समिति गठन गरेको हो। सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘पाठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको छ,’ उनले भने, ‘विस्तृत अनुसन्धान हुुन्छ।’
महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएको थियो। पाठकको झन्डै एक अर्ब रुपैयाँ बराबरको अकुत सम्पत्ति देखिएको भन्दै काठमाडौंं कोटेश्वरका सुजन दाहालले अख्तिायरमा आइतबार उजुरी दिएका छन्।
स्वामित्व विवादमा रहेको भक्तपुरको चाँगुस्थित इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको सार्वजनिक भएको थियो।
पाठकलाई कारबाही माग गर्दै विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले देशभर आन्दोलन नै चर्काएको थियो । क्रान्तिकारीले गत आइतबार देशभर पाठकका बिरुद्ध बिरोध प्रदर्शन गरेर बिरोध जनाएको हो ।
प्रतिक्रिया