Logo

अर्थ

राष्ट्र बैंकले दशैंमा नयाँ नोट नबाँड्ने

सुकिला नोटको सटही भने जारी रहने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा नदिने भएको छ। हालैको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षति र विपद्पछिको राहत तथा पुनर्स्थापनाको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नोट वितरण नगर्ने तयारी गरिएको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले दशैंलाई लक्षित गरेर नयाँ नोट बजारमा पठाउने तयारी नरहेको बताए। यसबारे छिट्टै औपचारिक सूचना जारी गरिने उनले जानकारी दिए।

उनका अनुसार बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको र धेरै नागरिक प्रभावित भएका बेला नयाँ नोट वितरण गर्नु सान्दर्भिक देखिँदैन। सरकारले विपद्पछिको आवश्यकताको मूल्यांकन (पीडीएनए) को पूर्ण प्रतिवेदन ल्याउन बाँकी रहेको तथा बाढीपहिरोबाट बैंकिङ क्षेत्रका ऋणी तथा व्यवसायीमा परेको असरको समेत मूल्यांकन भइरहेको उनले बताए।

‘दशैं भनेर एकदमै धेरै बढाइचढाइ गरेर, भर्खरै दशैंको मुखमा त्यत्रो बाढी गएको स्थिति छ। कति ऋणी समस्यामा परेका छन्, हेर्नै बाँकी छ र राहतको प्याकेज ल्याउनुपर्नेछ। यस्तो बेला नयाँ नोट वितरण गर्नु उपयुक्त हुँदैन,’ पौडेलले भने।

राष्ट्र बैंक अहिले बाढीपहिरो प्रभावित ऋणीको पहिचान, उनीहरूको समस्या सम्बोधन तथा आवश्यक राहत प्याकेज निर्माणमा केन्द्रित रहेको उनले बताए। प्रभावित उद्योगी, व्यवसायी तथा साना किसानका लागि कर्जा पुनर्संरचना, किस्ता भुक्तानीमा सहजीकरणलगायतका विषयमा समेत नीतिगत तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ।

सुकिला नोटको सटही भने जारी रहने

राष्ट्र बैंकले नयाँ नोट वितरण नगरे पनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थामार्फत सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था भने कायम राख्ने भएको छ।

राष्ट्र बैंकले पछिल्ला दुई–तीन वर्षदेखि दशैं–तिहारलाई लक्षित गरेर ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने अभ्यासलाई निरुत्साहित गर्दै आएको छ। नोट छपाइमा हुने सरकारी खर्च घटाउने, नोटको आयु बढाउने र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकिङ प्रणालीमा रहेका सुकिला नोटको पुनःप्रयोगलाई प्राथमिकता दिइएको हो।

‘हामीले दुई–तीन वर्षयता लगभग नयाँ नोट दशैंलाई लक्षित गरेर ननिकाल्ने नीति लिएका छौं। नोटहरू बैंकिङ प्रणालीबाटै स्वचालित रूपमा प्रणालीमा प्रवाह होऊन् भन्ने राष्ट्र बैंकको चाहना हो,’ पौडेलले भने।

केन्द्रीय बैंकले चाडपर्वका समयमा अत्यधिक नगद कारोबारको सट्टा क्यूआर कोड, मोबाइल बैंकिङ तथा डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्ने जनाएको छ। साथै, उपलब्ध सुकिला नोटको जतनपूर्वक प्रयोग गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार १५:४७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।