Logo

समाचार

हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ



जनकपुर । धनुषा प्रहरीले हवाई फायर गरी लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो । प्रहरीले मण्डलको साथबाट ब्राउन सुगर जस्तो देखिने करिब १४.४० ग्राम लागु औषध बरामद गरेको जनाएको छ ।

लागु औषध किनबेच भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ७र८ जनाले लाठी, भाटा लगायतले आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ । सो क्रममा एक जना प्रहरीसमेत घाइते भएको छ ।

पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ०९:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।