काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ ।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएसम्म सरकारले निर्धारण गरेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने बताएका हुन् ।
उनले चाडपर्वका बेला यात्रुको चाप बढे पनि त्यसलाई अवसर बनाएर अतिरिक्त भाडा असुल नगर्ने स्पष्ट पारे । सवारीसाधनको प्रकारअनुसार सरकारले तोकेको सामान्य, डिलक्स र सुपर डिलक्सको भाडादर व्यवसायीले पालना गर्ने उनको भनाइ छ ।
सिटौलाकाअनुसार दसैँलगायतका चाडपर्वमा अग्रिम टिकट बुकिङको व्यवस्थापन गर्दै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायीको मुख्य जिम्मेवारी हो । अग्रिम बुकिङ भएका सवारीसाधनलाई अन्य प्रयोजनमा रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिइएको उनले जानकारी दिए ।
चाडपर्वमा यात्रुवाहक सवारीसाधनको सहज आवागमनका लागि निश्चित अवधिसम्म मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने र सडक मर्मतलाई तीव्रता दिनुपर्ने महासंघको माग छ । कमजोर सडक तथा ठाउँ–ठाउँमा भइरहेको सडक अवरोधका कारण यातायात सञ्चालन चुनौतीपूर्ण बनेको सिटौलाले बताए ।
उनले तोकिएका बसपार्क र आधिकारिक काउन्टरबाट मात्र टिकट बिक्री गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बिचौलियाको गतिविधि नियन्त्रण गर्न सके यात्रु ठगीको समस्या न्यूनीकरण हुने उनको भनाइ छ ।
लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने पनि महासंघले जनाएको छ । चालकलाई पर्याप्त आराम र विश्रामको व्यवस्था गरेर सडक दुर्घटनाको जोखिम घटाउनुपर्ने महासंघको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले तत्काल त्यसको भार नागरिकमाथि नथोपर्नुपर्ने सिटौलाले बताए ।



















प्रतिक्रिया