राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू आइतबार कमल थापा नेतृत्वको राप्रपा प्रवेश गर्ने भएका छन् ।
थापा नेतृत्वको राप्रपाका महामन्त्री जयन्त चन्दसहितका नेताले भने राप्रपा संयुक्त प्रवेशका लागि शनिबार पार्टी त्यागेको घोषणा गरेका छन् ।
बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले एक कार्यक्रमको आयोजना गर्दै पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
राप्रपामा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार, सुरेन्द्र केसीलगायत प्रवेश गर्दै छन् ।
चन्द समूहले छाड्यो राप्रपा
राप्रपा महामन्त्री जयन्त चन्द नेतृत्वको समूहले शनिबार पार्टी परित्याग गरेको छ । चन्दसहित १८ जना नेताले पार्टी छाडेका हुन् । जयन्त पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।
पार्टी नेताहरू भरतप्रसाद पाठक, गोविन्द खनियाँ, भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, बिन्दा गिरी, रीता पोखरेल, सुन्दर खड्कालगायतले राप्रपा छाडेका हुन् । ‘हामी चाँडै राप्रपा संयुक्त प्रवेश गर्दै छौँ,’ राप्रपा छाडेका एक नेताले भने ।
प्रतिक्रिया