सिन्धुलीको स्थानिय सरकारले रोजागारीका विभिन्न कार्यक्रमहरु ल्याएर नागरिकलाई आयमुलक काममा उत्प्रेरित गरिरहेको छ । बेरोजगारीका कारण समाजमा थुप्रै समस्याहरु देखापर्दै गएको छ । आफ्नो गाउँठाउँमा रोजगार पाउन नसक्दा थुप्रै नागरिक विदेशिने गर्दछन् । देश संघियतामा गएसँगै स्थानिय तहमै शक्ति पनि बाँडिएको छ ।
अहिले स्थानिय तहमा देखिएको समस्यालाई केन्द्रबाटै समाधान गर्नुपर्ने बाध्यता छैन । त्यसैले, स्थानिय तहबाटै नागरिकको समस्या हल हुनुपर्छ । युवा शक्ति पलायन हुने क्रम र संख्या बढ्नु हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो ।
जिल्लाको मात्र नभएर राष्ट्रकैे पहिलो सम्पत्तिका रुपमा रहेका युवाहरुको निरन्तरको पलायनले आत्मनिर्भरता स्वावलम्बन र स्वाभिमान जस्ता विशिष्टता गुम्न सक्छ ।
स्वदेशमा रोजगारको अवसर कम हुनु, शान्ति–सु–व्यवस्थाको अभाव तथा श्रमको आधारमा प्रतिफल प्राप्त हुन नसक्ने अवस्थाका कारण युवाहरुको पहिलो र निर्विकल्प लक्ष्य हुने गरेको वैदेशिक रोजगारीका कारण हाम्रा उत्पादनशील भूमि बाँझिएका छन् । यसले कृषिमा परनिर्भरता बढेको छ र बाहिरबाट कृषि उपज नल्याउने हो भने भोकै बस्नु पर्ने अवस्था सिर्जना भइसकेको छ ।
युवाहरु शक्तिका श्रोत हुन्, परिवर्तनका आधार हुन् र भविष्यका प्रतीक पनि । तिनलाई त्यसै अनुरुपको वातावरण दिएर स्वदेशमै रमाउने, राष्ट्रभक्ति बढाउने र स्वाभिमान नचढाउने दिक्षा दिन सके मात्र जिल्लाकोे भविष्य सुरक्षित हुनेछ ।
प्रतिक्रिया