Logo

अर्थ

नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द, साइबर सुरक्षामा गम्भीर जोखिमको आशंका



काठमाडौं । नेपाल राष्ट्र बैंकले एज्ए प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।

राष्ट्र बैंकले जारी गरेको अत्यन्त जरुरी सूचनामा वेब प्रविधिमा देखिएको सुरक्षा कमजोरीका कारण सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाएको छ। सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।

राष्ट्र बैंकका अनुसार सेवा अस्थायी रूपमा बन्द रहेको अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जालका माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।

यसैबीच, राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीहरूलाई आग्रह गरेको छ।

प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन, सुरक्षा निगरानीलाई नियमित तथा प्रभावकारी बनाउन र आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न पनि बैंकले सुझाव दिएको छ।

एज्ए प्रविधिमा देखिएको सुरक्षा कमजोरीका कारण अनधिकृत व्यक्तिले सर्भरमा कोड सञ्चालन गर्न सक्ने जोखिम रहेको बताइएको छ।

यस्तो जोखिमबाट प्रणालीलाई सुरक्षित राख्न प्रभावित सफ्टवेयर तथा प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिक गर्न र जोखिमको अवस्था हेरी आवश्यक परे सेवा अस्थायी रूपमा बन्द गर्न साइबर सुरक्षा निकायहरूले सुझाव दिएका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार ०९:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।