तनहुँ । दसैँ र तिहारबीचको लामो बिदा मनाउन आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ।
चाडपर्वपछि परिवार र साथीभाइसँग घुमफिरमा निस्कनेको सङ्ख्या बढेसँगै बन्दीपुर बजार, होटल तथा आसपासका पर्यटकीय स्थलमा चहलपहल बढेको छ। पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमनसमेत बढ्न थालेको छ।
बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैसबहादुर गुरुङका अनुसार दसैँ र तिहारबीचको लामो बिदाले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढाएको हो। छोटो समयको भ्रमणका लागि बन्दीपुर सहज गन्तव्य बनेको उनले बताए।
‘भिजिट बन्दीपुर २०२५’ अभियानमार्फत गरिएको प्रचारप्रसारले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सहयोग पुगेको गुरुङको भनाइ छ।
परम्परागत शैलीका घर, ढुङ्गा छापिएका सडक, शान्त वातावरण र हिमशृङ्खलाको मनोरम दृश्य बन्दीपुरका मुख्य आकर्षण हुन्।
पुराना गल्लीमा घुमफिर, स्थानीय परिकारको स्वाद र मौलिक बस्तीको रहनसहन बुझ्न पाउने अवसरले पर्यटकलाई आकर्षित गरिरहेको बन्दीपुर सामुदायिक होमस्टेका पूर्वअध्यक्ष राजु बानियाँले बताए।
उनका अनुसार पर्यटकीय याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि बढ्न थालेको छ।
बन्दीपुर बजारमा मात्रै नभई आसपासका पर्यटकीय स्थलमा समेत पर्यटकको चहलपहल बढेको छ। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार खड्गदेवी मन्दिर, थानीमाई, रानीवन, रामकोट र प्रसिद्ध सिद्धगुफामा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ।
गाउँपालिकाले बन्दीपुरको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर प्रचारप्रसार गर्दै आएको उनले बताए।
“बन्दीपुरको आकर्षण बजारको सुन्दरता र हिमालको दृश्यमा मात्र सीमित छैन। यहाँको मौलिक संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ,” अध्यक्ष थापाले भने।




















प्रतिक्रिया