Logo

धर्म / संस्कृति

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै



 

काठमाडौं । धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना तथा रात्रि जाग्राम बसेर आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ। यससँगै १५ दिन लामो बडादसैँ पर्व औपचारिक रूपमा समापन भएको छ।

दुर्गा पक्ष अर्थात् बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार साँझ घरघरमा महालक्ष्मीको पूजा गरिएको हो। धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मीले जाग्राम बसेका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन्। यही विश्वासका आधारमा यो पर्व मनाउने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईले बताए।

समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आइतबार नै सम्पन्न भएको छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम पनि सकिएको छ। आइतबार नै जमरालाई नजिकका नदी, तलाउ तथा पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गरिएको छ।

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गा पक्ष नेपालीहरूले आ–आफ्नो परम्परा र गच्छेअनुसार मनाएका थिए। नवरात्र विजयादशमीकै दिन समाप्त हुने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन सकिने धार्मिक मान्यता छ।

लक्ष्मीपूजाको १५ दिनपछि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। कोजाग्रत पूर्णिमाको राति जुवा खेल्ने परम्परा र विधानसमेत रहेको भट्टराईले बताए।

यस अवसरमा महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने चलन छ। पूजा आराधना सम्पन्न गरेपछि भक्तजन रातभर जाग्राम बस्ने परम्परा छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार ०६:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।