काठमाडौं । नेपाल टेलिकमले विभिन्न तह र पदमा ८० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत रिक्त पदपूर्ति गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) पदमा एक जना माग गरिएको छ । त्यस्तै, आठौँ तहमा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत गरी तीन पदमा कर्मचारी माग गरिएको छ ।
सातौँ तहमा १६ जना कर्मचारीका लागि आवेदन खुलाइएको छ । यस तहमा टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन) तीन जना, कम्प्युटर इन्जिनियर १० जना र इलेक्ट्रिकल इन्जिनियर तीन जना माग गरिएको छ ।
त्यसैगरी, छैटौँ तहमा सहायक प्रशासनिक अधिकृत नौ जना, सहायक व्यापार अधिकृत आठ जना र सहायक लेखा अधिकृत दुई जना गरी १९ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
पाँचौँ तहमा तीन जना ओभरसियर, चौथो तहमा नौ जना टेलिकम टेक्निसियन र १७ जना सहायक तथा तेस्रो तहमा १२ जना कनिष्ठ प्राविधिक माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।
कम्पनीका अनुसार नियमित दस्तुर बुझाएर आगामी मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन् ।



















प्रतिक्रिया