Logo

समाचार

वाग्लेलाई अर्थमन्त्रीमा राख्न नहुने सोडारीको जिकिर



काठमाडौं । जेनजी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा वाग्लेले दिएको अभिव्यक्ति नेपालको राष्ट्रिय हित र सार्वभौमसत्ताविपरीत रहेको भन्दै सोडारीले यस्तो माग गरेका हुन् ।

अक्टोबर २३ मा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा वाग्लेले ‘भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको’ अभिव्यक्ति दिएका थिए । उक्त भनाइप्रति आपत्ति जनाउँदै सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर बर्खास्तीको मागसहित पत्र बुझाएका छन् ।

पत्रमा उनले नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्तासँग जोडिएका विषयमा आवाज उठाउनुलाई भारतविरोधी भावनाका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन् ।

नेपाल–भारतबीच विगतमा भएका असमान सन्धि–सम्झौताको पुनरावलोकन, अतिक्रमित भूमि फिर्ता, पारवहन सहजता, व्यापार घाटा न्यूनीकरण, नदी तथा जलस्रोतमा हस्तक्षेप र सीमावर्ती क्षेत्रमा हुने डुबानजस्ता विषय नेपालको राष्ट्रिय सरोकार भएको उनको भनाइ छ ।

नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग मात्र जोडेर व्याख्या गर्नु गलत भएको उल्लेख गर्दै सोडारीले दुई देशबीचको सम्बन्ध सम्मान, पारस्परिकता र आत्मीयतामा आधारित हुनुपर्ने बताएका छन् ।

‘राष्ट्रिय हित र सार्वभौमसत्ता नै धरापमा पारेर आत्मसमर्पण गर्न सकिँदैन,’ उनले पत्रमा भनेका छन् ।

बहालवाला सरकारी पदाधिकारीबाट पटक–पटक राष्ट्रिय हितविपरीत अभिव्यक्ति आउनु गम्भीर विषय भएको सोडारीको आरोप छ । उनले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न अर्थमन्त्री वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।