आइतबार देखि देशभर शुरु भएको एसईई परिक्षाको गतिविधिप्रति दिनहुँ प्रश्न उठिरहेको छ । हरेक परिक्षामा चिट चोरेको विषय प्राथमिकतामा पर्दै आएको छ । शिक्षकहरुनै परिक्षा केन्द्रमा चिट चोराउन पुगेपछि १० वर्षको शिक्षा ३ घण्टामा स्वाहा जस्तै बनेको छ । परिक्षा शुरु भएको केहि समयमै प्रश्नपत्र बाहिरीनु र मेसेन्जर, भाइबरको माध्यमबाट चिट परिक्षा केन्द्रमै पुग्नु सामान्य बनिसकेको छ ।
चिट चोराउने यस्ता हर्कतहरुबाट विद्यार्थीले के सिक्ने भन्ने प्रश्न उब्जेको छ । पढाउने विधि र विद्यार्थीको सिकाईको मुल्यांकन गर्न देखिएको कमजोरिले समग्र शिक्षाको गुणस्तरियतामाथि नै प्रश्न उठिरहेको छ । परिक्षामा विद्यार्थीले चिट चोर्नु सामान्य जस्तो भइसकेको छ किनभने विद्यार्थीले त्यस्तै शिक्षा पाइरहेका छन् ।
विद्यार्थीलाई सफलताको पाठमात्र सिकाउने शिक्षा प्रणालिले उनीहरुको भविष्यमा चुनौति थपिदिएको छ । एसईई परिक्षामा विद्यालयहरुको चिट चोराउने होडबाट आगामी दिनमा विद्यार्थीले के सिक्ने र देशले कस्तो जनशक्ति पाउने भन्ने विषय गम्भिर बनेको छ ।
प्रदेश नम्बर २ मा त झनै परिक्षा हुनु अगावै प्रश्नपत्र बाहिरिएपछि परिक्षा नै स्थगित गरिएको छ । दुईदिनको परिक्षा स्थगन पछि विद्यार्थीले चर्को विरोध गरिरहेका छन् । एसईई जस्तो महत्वपुर्ण परिक्षामा प्रश्नपत्र बाहिरिनु, विद्यार्थी आन्दोलनमा उत्रिनु लगायत परिक्षा नै स्थागित हुनुले राज्यको कमजोरिका कारण विद्यार्थीकोे भविष्यमाथि प्रत्यक्ष रुपमा खेलबाड भईरहेको देखाउँछ ।
तसर्थ, आगामी दिनमा यस्ता समस्या आउन नदिन सम्बन्धित निकायले गम्भिरता साथ आवश्यक कदम चाल्नुपर्छ । त्यसैगरि, परिक्षामा चिट चोराउने होड र विद्यालयले दिने शिक्षामा पनि नियमनकारी निकायको आँखा पुग्न आवश्यक छ । विद्यार्थी भविष्यको कर्णधार हुन् र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैको छैन । अतः अहिलेको एसईईमा देखिएको कमजोरिको गह्न अनुसन्धान गरि आगामी दिनमा यस्तो समस्या हुन नदिन जिम्मेवार निकाय गम्भिर बन्नुपर्छ ।





















प्रतिक्रिया