नेपाली कांग्रेस ऐतिहासिक पार्टी त हो नै। तर यसको संगठन संरचना पूरानो भएको छ। समयअनुकूल भातृ संस्थाहरूलाई अद्याबधिक गर्न सकेका छैनौं। त्यसकारण भातृ संस्थाहरूलाई समय अनुकूल परिवर्तन गर्न सक्नुपर्छ।
२०५४ सालमा नेपाल तरुण दललाई पुुनर्जीवन दिलाएजसरी अहिले भातृ संस्थाहरूलाई पुनर्जीवन दिलाउनु परेको छ, जतिबेला कांग्रेसभित्र ठूलो गुट थियो। तथापि तरुण दलको पुनर्जीवनबाट कांग्रेसमा एक किसिमको उत्साह जागेको थियो। देशभरका युवा तरुण दलका माध्यमबाट क्रियाशील भएका थिए।
अहिले नेपाल विद्यार्थी संघको नेतृत्वमा जान देशभरबाट ४ हजारभन्दा बढी युवा लालायित छन्। अहिलेको यथार्थता भनेको सबैलाई जिम्मेवारी दिने अवस्था छैन। अर्कातिर जिम्मेवारी नदिएर ती उत्साही युवालाई हतोत्साही बनाउन पनि हुदैन । कम्युनिष्ट सर्वसत्ताबादसँग लड्न सबैलाई यथोचित जिम्मेवारी दिएर आत्मसम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्नु जरुरी छ।
यही यथार्थलाई मध्यनजर राखेर एक बर्षअघि पार्टी सभापतिज्यूलाई युथ कांग्रेसको एउटा अवधारणा पत्र बुुझाएको थिएँ मैले। नेवि संघ, महिला संघ, किसान संघ, दलित संघ लगायतका सबै भातृ संस्थाबाट जाने व्यक्ति पार्टीको नेतृत्व गर्न चाहन्छन्।
जुुन स्वभाविक पनि हो। खारिएको, परिपक्व मान्छे पार्टीको नेता हुनुुपर्छ। सबै किसिमको ज्ञान र सीपयुक्त मान्छे भएमा पार्टी सञ्चालन गर्छ, जनताका पक्षमा पनि काम गर्छ। यसो हुँदा जनताले पनि पार्टीलाई माया गर्ने अवस्था बन्न जान्छ।
जस्तो, ३२ बर्षसम्मको विद्यार्थी नेवि संघ हुने भनेर हामीले विधान बनाएका छौं। तरुण दललाई ३२ वा ४५ बर्षसम्म राखौं, त्यसमा कुनै विवाद भएन। तरुण दलमा काम गरेपछि ५५ वर्षसम्म युथ कांग्रेसका माध्यमबाट संगठनलाई अगाडि बढाउन सक्यौं भने त्यसले पार्टीमा ठूलो योगदान दिन सक्छ।
अर्थात् युथ कांग्रेसलाई स्टाफ कलेज जस्तो बनाऔं।जसरी नेतृत्वमा पुुग्न कर्मचारीहरूले स्टाफ कलेज पास गर्नैपर्छ, त्यसैगरी कांग्रेसको राजनीतिमा जान पनि युथ कांग्रेसमा बसेर अनिवार्य काम गरेको हुनुुपर्ने बाध्यकारी व्यवस्था गरौं। राजनीतिका पनि मर्यादा छन्।
नैतिक मूूल्यमान्यता छन्। आचरण छन्। व्यवहारिक कुरा छन्। क्षमता र योग्यताका कुरा पनि छन्। यी सबै कुराले खारिएको परिपक्व जनशक्ति पार्टीमा ‘सप्लाई’ गर्दा नेतृत्वको उचाई स्वतः बढ्ने छ।
यसो हुँदा सबै भातृ संस्थाबाट गएको नेतृत्व युवा कांग्रेसमा थिग्रिनेछ। त्यहाँबाट फिल्टर भएर मात्र पार्टीमा पठाउनुपर्छ। अर्थात् युुथ कांग्रेसमा एउटा यस्तो ढोका हुन्छ, जुन ढोका पास नगरी कांग्रेसको राजनीति गर्न नपाउने प्रबन्ध मिलाउन सकियो भने कतै न कतै नेपाली जनताले खोजेको, राजनीतिले खोजेको, नेपाली परिवेशले खोजेको मूल्य मान्यताको राजनीति स्थापित हुन सक्छ।
जहाँ प्रशिक्षण दिइन्छ। त्यसबाट खारिन्छ नेतृत्व। कम्तिमा ३ महिनाको प्रशिक्षणबाट प्रशिक्षित नेता पार्टीमा गयो भने उसले काम गर्न सक्छ ।यसमा वडादेखि केन्द्रीय समितिसम्मको खाका पनि बनाएको छु। जहाँ नेतृत्वमा मात्रै १ लाख ९ हजार २७ जना खटाएर काम गर्न सकिन्छ।
कांग्रेसभित्र नयाँ संरचनाको पनि खोजी भइरहेको छ । परम्परागत संरचनाले राम्रो गर्न सक्छ कि सक्दैन भन्ने द्विविधा उत्पन्न भएको छ। यसले पार्टीमा ठूलो उत्साह दिन सक्छ । पार्टीको निधारित ठाउँमा पनि यसले दुुईवटा कारणबाट मद्धत गर्दछ।
एकातिर राजनीतिमा स्खलन हुुँदै गएको आधारभूूत चरित्र सिकाउँछ, अर्कातिर जिम्मेवारीमा तिमी छौं, काम गर्नुुपर्छ भनेर जिम्मेवारी महसुस गराउन सक्छौं । जसबाट उसले स्वभाविक रुपमा जनता र पार्टीका पक्षमा काम गर्छ। वडा तहबाटै समर्थन पाएर उसले जुनसुकै परिस्थितिमा, जुनसुुकै निरंकुुशताका विरुद्ध जनताको प्रजातान्त्रिक अधिकारका लागि र समग्रमा देशका लागि काम गर्न सक्छ।
अहिले जताबाट आए पनि, जस्तो मान्छे पनि पार्टीको केन्द्रीय तहमा पुुग्ने, तर तलको नैतिकवान र योग्य व्यक्तिलाई काम गर्न कठिन छ। नेतृत्व तहमा उसको आफ्नो मान्छे भएन भने उसले पार्टीमा प्रवेश पाउँदैन। त्यसकारण युथ कांग्रेसको प्रवेशद्वारबाट पास भएका मान्छे मात्र केन्द्रीय नेतृत्वमा जाने व्यवस्था गर्नुपर्छ। त्यसको प्रतिफल पक्कै राम्रो हुन्छ।
कम्युनिष्ट पार्टीको जम्बो केन्द्रीय समितिमा सबै अटाएका छन्। हरेक मानिसलाई संगठनको जिम्मेवारी दिएजस्तो जनतालाई छकाउने काम गरेको छ उसले। त्यसलाई काउण्टर दिन पनि युथ कांग्रेसका माध्यमबाट बढीभन्दा बढी साथीहरूलाई जिम्मेवारी दिनुपर्छ। भारतमा युवा कांग्रेसको प्रचलन छ। अहिलेको माटोले खोेजेको भनेकै बढीभन्दा बढी मानिस प्रजातन्त्रवादी हुनुुपर्छ र प्रजातन्त्रका आधारभूत कुरा बुुझ्नुपर्छ भन्ने हो।
अर्कोतिर, राजनीतिका माध्यमले सत्ताको बागडोर सम्हाल्नेहरू जनताको कसीमा जँचिएर आउनुपर्छ भन्ने पनि आजको आवश्यकता हो। हामी अब युथ कांग्रेसको अवधारणाबारे छलफल अघि बढाउछौं। पार्टीको महाधिवेशनले अपनत्व गर्ने गरी यो अघि बढ्छ। नेपाली कांग्रेसको सशक्तताको यात्रा योभन्दा अर्को छैन।
नैनसिह नेवि संघका निबर्तमान अध्यक्ष हुन्।




















प्रतिक्रिया