Logo

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे चलाखी



प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक डाकेर दुखेसो पोखेका छन् । दुई तिहाईको सरकार बनेपछि अहम्पूर्वक उनले विपक्षी दललाई वास्तासमेत नगरी आफ्नो बुद्धिमात्र चलाएर आलोचित भएपछि बल्ल संसदमा सहभागी चार दलका नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

उक्त छलफलमा उनले विशेष गरी आत्मआलोचना गरेका छन् । आफू घेराबन्दीमा परेपछि सहजीकरणका लागि सर्वदलीय बैठक बोलाएको बुझाइ सहभागी नेताहरुको छ । आफूले सकुन्जेल मुलुकको संरचना अस्तव्यस्त पार्ने अनि अब आफ्नो कुर्सी खतरामा पर्यो भन्ने बुझेपछि सर्वदलीय बैठक बोलाएको स्पष्टै छ ।

प्राप्त उपलब्धी गुम्न नहुनेमा सर्वदलीय बैठकमा सबै एकजुट भएका छन् । तर लोकतन्त्रमाथि खतरा रहेको जस्ता अफवाह कतै ओलीको मनको बाघले खाइरहेको त हैन भन्ने प्रश्न पनि उब्जिएको छ । एक सहभागी राजपाका नेताले भने, ‘प्रधानमन्त्रीले बैठक डाक्नु आफैमा सकारात्मक पहलकदमी हो । तर यो बैठकको उद्धेश्य के हो भनेर जान्नु जरुरी छ ।’

यहींबाटै प्रश्न उब्जिन्छ कि –‘दुई तिहाईको सरकारलाई कसरी काम गर्ने भनेर विपक्षीले सिकाउनु पर्दैन’ भनी विपक्षी चिंढाउने ओलीले सत्ता सम्हालेको १८ महिनापछि किन सर्वदलीय बैठक बोलाए ?

गत आइतबार मात्र प्रतिनिधिसभाको बैठकमा आफू पाँच वर्ष ढुक्कले प्रधानमन्त्री हुने भन्दै चुनावपछि पुनः प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका थिए । यसले गर्दा उनकै पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकता हुँदाको ‘ओपन सेक्रेट’ सहमतिमा धक्का लागेको थियो ।

आफ्नै पार्टीभित्र आलोचनाका शिकार बन्दै आइरहेका ओलीले लोकतन्त्रका प्राप्ति उपलब्धी सुरक्षाको नाममा आफ्ना विरोधीहरुको साथ लिन खोजिरहेका छन् । त्यतिमात्र होइन उनले आफ्नो स्वास्थ्यबारेसम्म स्पष्ट जानकारी नदिएर आलोचित बनेपछि मानिस बिरामी हुने, फेरि निको हुने भएकाले त्यसमै धेरै अफबाह बाहिर आएको भन्दै स्पष्ट पार्ने प्रयास बैठकमा गरेका थिए ।

उनले आफू पुनः बिहीबार सिंगापुर उपचारकै लागि जान लागेको र त्यसपछि फर्केर फेरि सबैसंग छलफल गर्नेसमेत बताएका छन् । गत साउन १८ गते सिंगापुर गएर उनी साउन २७ गते फर्केका थिए । सिंगापुरबाट फर्केपछि उनले संचारकर्मीसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यबारे ‘रुखो’ जवाफ फर्काएका थिए ।

‘केही दिनमै थाहा पाइहाल्नुहुन्छ नि’ भनेका थिए । त्यसपछि त्यो रुखो जवाफको परिणाम पनि उनले देखे –संचारमाध्यम अनि सामाजिक संजालमा । अनि वाध्य भएर दलहरुको बैठकमा अफबाह फैलाइयो भनेर गुनासो गरे । अहिले फेरि सिंगापुर जाँदैछन् । तर कति समयका लागि जाँदैछन् भन्ने कुरा उनले खोलेका छैनन् ।

राष्ट्रको कार्यकारीका बारेमा चासो हुनु स्वभाविकै हो । कार्यकारीले बोल्ने हरेक शब्दहरु महत्वपूर्ण हुन्छन् । यसतर्फ उनी गम्भीर नहुँदा कुर्सीमा बसेको १८ महिनापछि सर्वदलीय बैठक बोलाउनु पर्यो । उनले देशमा खतरा भएर हैन कि आफूमाथि खतरा भएरै नेताहरुलाई हारगुहार गरेको बुझ्न द्धिविधा छैन ।

मिडिया काउन्सिल विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिएको अडान, गुठी विधेयक दर्ता फिर्ता र पछिल्ला चर्चाले पनि ओलीलाई झस्कायो । संसदमा विपक्षीलाई समेत सम्मान गर्न नसक्ने परिपाटीको दम्भ ओलीले देखाएकै थिए । ओली फेरि फकाउने प्रयासमा छन् । आफ्नै पार्टीबाट आलोचित भएपछि विपक्षीको साथ र सहयोग पाए आफ्नो पार्टीभित्रको खतरा टर्ने विश्वास उनको हुन सक्छ ।

संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न बैठक डाकिएको भनेर सूचना प्रवाह गरिएको थियो । तर त्यससम्बन्ध आफू सिंगापुरबाट फर्केपछि कुराकानी गरेर निर्णयमा पुग्ने उनले बताएको सहभागी नेताले बताएका छन् । अर्थात् ‘म आउन्जेल कुनै पनि त्यस्तो अनिष्ट नहोस्’ भन्ने मनको बाघको डर हटाउन पनि उनले सर्वदलीय बैठक डाकेको बुझाइ सहभागीकै छ ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीविहीन छन् । अहिलेसम्म त्यतातिर ध्यान नदिनुको कमजोरी अब उनले विपक्षीहरुलाई पनि लाद्ने मनस्थिति बनाएका हुन सक्छन् ।

अनि आफ्नो दलका एक जनासम्म भए पनि पदाधिकारी घुसाउन पाए सफलता ठान्ने र थोरै भए पनि भागबन्डामा सहभागी गराएर समर्थन बटुलौं भन्ने उद्धेश्यमा ओली सफल हुन सक्छन् ।तर आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालको कडा प्रतिक्रिया र एक व्यक्ति एक जिम्मेवारीको अडानको जवाफ कसरी देलान् त ?

केहीले मरिहालोस् भनेका छन्, म १५ वर्षसम्म अखडामै हुन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन् । संविधान दिवसरराष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु। विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’

उनले आफू बिहीबार उपचारका लागि सिंगापुर जान लागेको र आफूलाई अहिलेनै केही पनि नहुने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न कष्टसहित बनाएको संविधानको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं। त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले यसपालिको संविधानलाई उत्सवमय बनाउनुपर्ने बताए ।

उनले आफू सिंगापुरबाट फर्किएर भव्यता र व्यापक तयारीसहित मनाउनेगरी संविधान दिवसको तयारी थाल्न पनि आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवस अरु दिवसभन्दा महत्वपूर्ण भएकाले भव्यता र व्यापकताका साथ मनाउनुपर्ने धारणा राखे ।

‘यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रूपमा मनाउनु पर्दछ। घरघरमा दिपावली मनाउनु पर्दछ,’ ओलीले भने । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि नेपालमा संविधान दिवस मनाउन थालिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ११:२३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।