नेपालीहरु जङ्गबहादुरको पाला देखि निकै जाँड खाने रहेछन् । निक रमाइलो गर्नुपर्ने स्वभावका भएपनि जाँड खाएर हल्लनुपर्ने । सन् १८७५ मा नेपालमा आएका रुसी नागरिक इभान पाभ्लोभिच मिनाएभले नेपालका विपन्न समुदाय देखि संभ्रान्तहरुको जाँड खाएर हल्लनुपर्ने स्वभावबारे यात्रावर्णनमा उल्लेख गरेका छन् । उनी नेपाल आउँदा जङ्गबहादुर प्रधानमन्त्री थिए ।
नेपालीहरुलाई निकै रसिला पाए उनले । हँसमुख र दयालु देखे । तर, नेपाल भ्रमणको अनुभवबारे यात्रावर्णनमा नेपालीहरुलाई जड्याहा देखे । केही अपवाद छाडेर सबै जना जाँडरक्सी खान्छन्, मिनाएभले लेखेका छन् । यतिसम्मकी शिक्षकले समेत विद्यार्थीलाई रक्सीको व्यवस्था गर्ने गरेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “नेपालका बेरोनेटका छोराहरुलाई शिक्षा दिन भर्ना गरिएका अंग्रेजी शिक्षक आफ्ना शिष्यहरुको शिक्षादिक्षामा भन्दा उनीहरुको निम्ति सोमरस अर्थात् कोन्याकरक्सी जुटाउनमा संलग्न रहेको देखिन्छन् ।”
शिक्षक नै रक्सी व्यवस्थापनको पेशामा संलग्न थिए । रक्सी व्यापार गरेर धनी बनेका थिए । उनले काठमाडौंलाई जड्याहाहरुको शहरका रुपमा इंकित गरेका छन् । उनले लेखेका छन्, काठमाडौंका सडकहरुमा के उत्सव, के साधारण दिन, सधैं रक्सी लागेका मानिसहरुलाई देख्न सकिन्छ । सन् १८७५ मा नेपाल आएका इभान पाभ्लोभिच मिनाएभले नेपालमा देखे भोगेको विषय यात्रावर्णनमा उल्लेख गरे । रुसी नागरिक उनी त्यतिबेला नेपाल आउने थोरै यूरोपेलीमध्यका हुन् ।
गणेशमान सिंहले जनतालाई किन ‘भेडा’ भनेका थिए
गणेशमान सिंहले सार्वजनिक रुपमै जनतालाई भेडा भनेका थिए । विशेषगरी शहरी जनताको शैलीतर्फ लक्षित गर्दै उनले भेडा भनेका थिए । भेडाको जात बथानमा अगाडिको जता लाग्यो बाँकी त्यतै लाग्छन् चाहे त्यो डरलाग्दो खाडल वा भीर नै किन नहोस् । उनको यो भनाईमा केही आक्रोश र केही यथार्थ मिश्रण थियो । कुरा राम्ररी नबुझी भीडको एकोहोरो एकैतर्फ लाग्ने भावनालाई लक्षित गरी गणेशमानले भेडा भनिदिए । कतिपयले उनको आलोचना समेत गरेका थिए ।
२०४६ को जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए । काँग्रेसले सर्वोच्च नेता बनाएको उनी अन्य दलका लागि पनि सर्वोच्च नेताका रुपमा सम्मानित थिए । सिंहले चुनावमा असल उम्मेदवारहरु पराजित भएको अनुभव गरे । पत्नी मङ्गलादेवी सिंह समेत पराजित भइन् । हुँदा हुँदा कृष्णप्रसाद भट्टराई समेत पराजित भए । सादगी त्यागी नेताको पराजय गणेशमान सिंहका लागि सह्य थिएन ।
कुनैबेला जनताले नानीमैयाँ दाहाललाई अत्याधिक मतले जिताएका थिए । दाहाल मुखमा जे आयो त्यही बोलेर अराजक नेताको पहिचान बनाउन सफल थिइन् । उनको चर्चा यति चुलिएको थियो कि देशको नेतृत्व नै उनले गरे हुन्थ्यो जस्तो गर्थे त्यतिबेला काठमाडौंवासी ।
नानीमैयाँ जस्तो अराजक नेतालाई चुनाव जिताउनेले कृष्णप्रसाद भट्टराई जस्ता विद्धान र अन्तर्राष्ट्रिय उचाई बनाएका नेताको पराजयका कारण पनि गणेशमान सिंहले जनतालाई भेडा भनिदिए ।
सिंहले भनेजस्तै व्यवहार नेपाली राजनीति र समाजमा देखापरिरहने गरेको छ । एकोहोरो कसैको देवत्वकरण र राक्षसीकरणमा लागेका छन् सर्वसाधारण ।





















प्रतिक्रिया