Logo

विचार / ब्लग

तीजको ब्रत संस्कृति र व्यवहारिक तथ्य



नेपाली नारीहरुको सबैभन्दा महत्वपूर्ण पर्वमध्ये तीजलाई विशेष महत्वको साथ हेर्ने गरिन्छ । हरेक वर्ष भाद्र शुुक्ल द्वितीयको दिनरात दर खाएर तृतीयाको दिन केहि नखाई निराहार ब्रत बस्ने दिनबाट आरम्भ र पञ्चमी पुजापछि तीजको समापन हुन्छ ।

आ–आफ्नो रितिरिवाज, धर्म–संस्कृति जे भएपनि प्रायः नेपाली महिलाहरुले तीजलाई महाेत्सवको रुपमा हेर्ने गर्छन । जतिसुकै व्यस्त रहेपनि यी दिनमा फुर्सद निकालेर एकापसमा भेला भई महिला हरुले ब्रत बस्ने नाच गान गर्ने गर्दछन । तीजको ब्रत कहिलेबाट प्रारम्भ भयो भन्ने मिति ठ्याक्कै भन्न नसके पनि धार्मिक ग्रन्थलाई आधार मान्ने हो भने पार्वतीले महादेव पति प्राप्त गर्नका लागि नदीको किनारमा बालुवाको शिव लिङ्ग बनाई विधिपूर्वक पुजाअर्चना गरेको दिनलाई स्मरण गरी सत्य युगबाट नै तीजको सुरुवात भएको मान्न सकिन्छ ।

नेपालमा मनाइने हरेक चाड पर्वहरु धार्मिक आस्थाका आधरमा मनाइने गरिन्छ । सवै पर्वहरु धर्मसँग जोडिएका छन्, तथापि यसलाई केलाएर अन्तरंगमा पुग्ने प्रयास गरियो भने सवै पर्वहरु धर्मसँग मात्र सम्बन्धित नभएर ब्यवहारिक र वैज्ञानिक तथ्यसँग जोडिएका छन । खेत रोप्ने सिजनमा प्रचण्ड गर्मीको समयमा शितलता प्रदान गर्नका लागि असार १५ मा दही चिउरा र आलुको अचार खाने, श्रावण १५ मा झरीको भिजाइलाई मध्यनजर गरी सर्दी कमगर्न खिर खाने, असार, श्रावणको खेतीपातीको समयको थकान, मेहनतका कारण भएको कमजोरीलाई व्यवस्थापन गर्न जनैपूर्णिमाको दिनमा क्वाँटी खाने, चिसोबाट बच्नका लागि माघे संक्रान्तिमा घिऊ चाक्कु खानेलगायतका यी सवै उदाहरणहरु धर्मसँग मात्र सम्वन्धित नभई शवयवहारिक र वैज्ञानिक तथ्यसँग जोडिएका छन ।

पक्कैपनि माथिका तथ्यसम्म अध्यन गरिसक्दा पाठकहरुमा तीजको ब्रत धर्म, संस्कृतिसँगै कुन व्यवहारिक र बैज्ञानिक आधारसँग जोडिको छ त ? भनी जिज्ञासा हुन सक्छ । यसलाई स्वाभाविक मानिन्छ । धर्मको गहन अध्यता नभएपनि आयुर्वेद र जडिबुटीमा लामो समय व्यावसायिक रुपमा सामान्य काम गरेको र नेपालमा पाइने केहि जडीबुटीका बारेमा सामान्य जानकारी राख्ने भएको हुनाले तीजको ब्रत र केहि व्यवहारिक तथ्यलाई उधिन्ने प्रयत्न गरेको छु ।

सतप्रतिशत पाठकलाई हो भन्ने नलाग्न सक्छ । साथै सतप्रतिशत पाठकलाई हँुदै होइन भन्ने नलाग्न पनि सक्छ । तथापि हाम्रो मौलिक परम्परा, रितिरिवाज, धर्म, संस्कृति, खानपान सबैलाई अध्यन गर्दा तीजको ब्रतमा पनि धर्म, संस्कृतिका साथै केहि व्यवहारिक पक्ष र वैज्ञानिक आधार जोडिएका छन् भन्ने तथ्य फेला पार्न सकिन्छ ।

समयको विकास क्रमसँगै समाज आधुनिकतातर्फ लम्केको छ । गर्भधारण, सुत्केरी हुने समय सबै सम्वन्धित चिकित्सकसँगको राय सल्लाह परामर्शमा हुने गर्छ । जुन समयमा तीजको ब्रत थालनी भयो त्यो समयमा यि सुविधा उपलब्ध पक्कै थिएन । त्यस समयमा थालनी भएको यो परम्परा विवाह, गर्भाधान, सुत्केरी हुने समयलाई निर्दिष्ट गरि तयार गरिएको हो भन्ने तथ्यलाई यि कुराहरुले पुष्टी गर्छ ।

महिनावरी सुरु नभएका र उमेरका कारण बन्द भएकाहरुको लागि ब्रत अनिवार्य हुँदैन । प्राय तीजको ब्रत विवाहित महिलाले बस्ने गरेको पाइन्छ । दर खाएको भोलिपल्ट तृतीया तिथिको दिनमा ब्रत बस्ने दिनभर सक्नेहरुले पानी समेत नखाने, बेलुकी पुजा पाठ सक्रियपछि फलफूल खाने गरिन्छ । (धर्मसास्त्र र आयुर्वेदमा ब्रत बस्नुलाई धर्मका साथै सरिर सुद्धीकरण हुने प्रकृयाको रुपमा लिइन्छ) ।

भोलिपल्ट अर्थात चौथीको दिनमा बिहानको पुजा कर्म सकेर खाना खाने गरिन्छ । यो वर्ष चौथी पञ्चमी एकै दिन परेको छ । पञ्चमीको दिनमा बिहानै नदिमा गएर स्नान गर्ने चलन रहेको छ । स्नान गर्ने समयमा दत्तिवनले दांत सफा गर्ने गरिन्छ । यसलाई एन्टीसेप्टीकको रुपमा लिइन्छ । आयुर्वेदमा यसलाई विरेचन प्रयोगको लागि उपयुक्त भनी वर्णन गरिएको पाइन्छ । जसको प्रयोगले शरीरमा जुनसुकै अंगमा भएको पित्त, कफलगायत विकारहरु बाहिर निकाल्ने कार्य गर्दछ । लहरेखोकीको लागि यो अचुक औषधि भनी वर्णन गरिएको छ । दांतको लागि उत्तम औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ । दत्तिवनले नियमति दाँत माझ्ने गरेमा सधैँ मजबुुत हुन्छ । स्नानको समयमा माटोले यौनाङ्ग सफा गर्ने चलन रहिआएको छ । दत्तिउन र माटोको प्रयोग शरीर शुद्धिकरणको प्रक्रिया हो । जुन समयमा आधुनिक समयका सावुन, दन्तमञ्जन, सवैखाले प्रशोधनहरु उपलब्ध थिएनन् । दिउँसो पञ्चमी पुजा समापनपछि खाना खाने प्रचलन छ । खाना खाँदा तरकारीमा कर्कलोको प्रयोग अनिवार्य छ । कर्कलो आइरनको राम्रो श्रोत त हो । यसका साथै मानिस लगायत सवै प्राणीमा स्त्री लिङ्गको यौन इच्छा जागृत गर्ने भरपर्दो बनस्पतिको रुपमा आजसम्म कर्कलोलाई मानिँदै मात्र होइन प्रयोगमा ल्याइरहेका छन् । अहिले पनि गाउँघरमा लामो समयसम्म गर्भाधानको लागि तयार भएन अथवा उसमा यौनेच्छा जागृत भएन भने कर्कलो पकाएर खुवाउने चलन छ । कर्कलो पञ्चमी पुजापछि किन खाइन्छ भन्ने विषयमा लामो व्याख्या अब गरिरहनु पर्दैन ।

यो ब्रतको प्रारम्भ जुन समयमा सुरु भएपनि जसले सुरु गरेको भएपनि गर्भाधाना साथै सुत्केरी हुने समयलाई यति व्यवस्थित ढंगबाट मिलाइएको छ । सायद लाग्छ आजका धेरै अध्ययन गरेका, विशेषज्ञ, ज्ञाताभन्दा ति हाम्रा पूर्वज धेरै अगाडि थिए भन्ने संकोच मान्नुपर्ने अवस्था छैन । आजको आधुनिता त्यसैको परिमार्जित रुप मात्र हो ।

निराहार ब्रत बसेर आफुमा स्वछन्दता ल्याउनु, स्नानको समयमा शरीरमा भएका विकारहरु फ्याक्नको लागि दत्तिवनको प्रयोग गर्नु (आधुनिक शब्दमा क्युरियोट) अझै नयाँ शब्दहरु पनि आइसकेका छन् । त्यो समयमा दत्तिवनबाट गरिन्थ्यो जुन आज पनि हरेक वर्ष एक दिन गरिन्छ । सफा गर्नका लागि आज विभिन्न ब्रान्डका स्याम्पो, सावुन जस्ता प्रशोधित वस्तुहरु प्रयोग गरिन्छ । त्यो समयमा माटोको प्रयोग गरियो जुन आज वर्षमा एक दिन निरन्तरता दिइएको छ ।

आज यौनेच्छा जागृत गर्न वा गर्भाधानको लागि तयार हुन विभिन्न औषधिहरुको सेवन गरिन्छ त्यो समयमा कर्कलो खाएर गरियो । यत्तिले मात्र तीजको ब्रत गर्भाधानसँग सम्बन्धित छ भनेर पुष्टी हुँंदैन । गर्भाधानको एक डेढ महिनापछि आमाको गर्भमा बच्चाले आकार लिँदै आउँछ तब आमालाई पौष्टिक खाने कुराको आवश्यकता पर्छ । जुन समयमा सधै पौष्टीक खाने कुरा जुटाउन सम्भव थिएन जस्को परिपुर्ती महिना देखी डेढ महिना पछी आउने दसै, तिहारजस्ता पौष्टिक खाने कुरा जुटाउने समयले गथ्र्याे । श्रावणको मध्यदेखि भाद्रको मध्यसम्म गर्भाधान हुँदा बैशाखको मध्यदेखि ज्येष्ठ मध्यसम्म नौ महिना पूरा भई बच्चा जन्मने समय हुन्छ ।

नौ महिना आमाको गर्भमा बसेको बच्चा बाहिर निस्कँदा चिसो लाग्नु उसको लागि सबैभन्दा ठूलो समस्या हो । केहि वर्ष अघिसम्म मात्र पनि अधिकांश नवजात शिसुको मृत्यु निमोनिया लगायत चिसोको कारण हुने गर्दथ्यो । जुन समय यो ब्रतको प्रारम्भ भयो त्यस समयमा अहिलेको जस्तो तातो न्यानोको सुविधा सायदै थियो होला । त्यसैले भाद्र शुक्ल पक्ष (ज्योतिष विज्ञानमा कृष्ण पक्षभन्दा शुक्ल पक्ष सबै शुभ कार्यलाई राम्रो मानिन्छ)मा गर्भाधान हुने आवस्यक पौष्टिक तत्वको व्यवस्थापन दसैं, तिहारजस्ता पर्वमार्फत गर्ने र चिसोबाट बच्चामा हुने जोखीमबाट जोगाउन बैशाख मध्यदेखि ज्येष्ठ मध्यसम्म बच्चा जन्माउने समय मिलाउनुले तीजको ब्रत धर्म सँगसँगै व्याबहारिकता र वैज्ञानिक आधारसँग जोडिएको छ भन्न सकिन्छ । महादेवको पूजा पुरुषप्रति आस्थावान रहनु, ब्रत, स्नानको समयमा प्रयोग हुने माटो साथै वनस्पतिको माध्यमले शरीर शुिद्धकरण गर्नु, अन्तिम पूजा समापनपछिको खानपानमा प्रयोग हुने सामग्रीले समागम अथवा गर्भाधानको लागि तयार रहनु नै यसको प्रमाण हो ।

हरितालीका तीजको सबै महिला दिदीबहीनीहरुमा  मंगलमय शुभकामना ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।