नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको भन्दै सरकारले जनविश्वास गुमाइसकेको बताएका छन् । नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोहमा बोल्दै बानियाँले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताए ।
हजारौंको बलिदान र कयौं वर्षदेखिको जकडिएको व्यवस्थालाई परिवर्तन गरी देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको रवैयाका कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधी तत्वहरुले टाउको उठाउन थालेको उनको भनाइ थियो ।
‘यो सरकार ह.त्या हिंसा बला.त्कार का.ण्ड, सुन का.ण्ड, वाइडबडी का.ण्ड जस्ता काण्डै का.ण्डमा फसिरहेको छ, सरकारले जनताको हितविपरीत काम गर्दै देशलाई नै संकटमा धकेल्ने काम गरिरहेको छ ।’ बानियाँले भने–‘अहिलेको सरकार ओलीको, काँग्रेसको सरकार भोलिको हुने पक्का छ, जनताले काँग्रेसकै भरोसा गर्न थालिसकेका छन् ।’
वर्तमान सरकारले संविधानकै बर्खिलापमा ऐन कानुन बनाउन थालेको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उनले बताए। संविधानविपरीत ऐन कानुन निर्माणमा सरकारले जबरजस्ती गरे काँग्रेसले सशक्त प्रतिकार गर्ने उनको चेतावनी थियो ।
हेटौंडाको पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, पार्टी मकवानपुर सचिव बुद्ध लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पूर्वसांसदका भाई काँग्रेसमा
कार्यक्रमकाबीच संविधानसभा सदस्य एवम् पूर्वसांसद राजाराम स्याङ्तानका कान्छा भाई दलबहादुर स्याङ्तान र नेकपा मनहरी गाउँपालिका–५ का सदस्य हिरालाल पाख्रिन नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
पूर्व एमालेका गाउँ समिति सदस्य समेत रहेका दलबहादुर लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय थिए । पार्टी प्रवेशपछि बोल्दै हिरालाल पाख्रिनले नेपाली कम्युनिष्टले बाटो बिराएको तर्क गर्दै अब देशको सेवा गर्ने पार्टी कांग्रेस मात्र भएको देखेर प्रवेश गरेको बताए।





















प्रतिक्रिया