नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले कांग्रेसको संगठन विस्तार गर्न थप पचास प्रतिशत क्रियाशिल सदस्यता वृद्धि गर्ने निर्णय गरेको छ । तर मेरो विचारमा संगठन शसक्त बनाउन क्रीयाशिल सदस्यको संख्या वृद्धि गरेर होइन, क्रीयाशिल सदस्यहरूको क्रीयाशिलतामा वृद्धि गरिनुपर्छ । क्रीयाशिल भएकालाई क्रीयाशिल सदस्यता दिने हो कि संख्या धेरै देखाउन क्रीयाशिल सदस्यता बाँड्ने हो ?
विगतमा नेपाली कांग्रेसले क्रीयाशिल सदस्यता बाड्दाँ व्यक्तिको क्रीयाशिलता नहेरी पार्टी भित्रको आन्तरिक निर्वाचनमा आफूलाई जिताउन आफ्ना आफन्तहरू श्रीमान-श्रीमती, छोराछोरी, भाइ-बुहारी, भतिजा-भतिजी, बहिनी-ज्वाईं, भाञ्जा- भाञ्जी, मामा-माइजु, फूपु-फुपाजु जस्तालाई बाँड्ने गरिएको छ ।
त्यस्ता क्रीयाशिल सदस्यहरू पार्टीका विभिन्न कार्यक्रमहरू, निर्वाचनहरूमा पार्टीको प्रचारप्रसारमा सक्रिय हुने कुरा त परै जावस कांग्रेसको चुनाव चिन्ह रूखमा पनि इमानदार पूर्वक सबैले मत हालेको पाँइदैन । त्यसैले कतिपय स्थानमा क्रीयाशिल सदस्यको संख्या भन्दा कांग्रेसको चुनाव चिन्ह रूखमा कम मत खसेको अनगिन्ती उदाहरणहरू छन ।
नक्कली क्रीयाशिल सदस्यहरू त क्रीयाशिल नहुने नै भए सक्कली क्रीयाशिल सदस्यहरू पनि पार्टी भित्र आवश्यक वातावरणको अभावमा भनेजस्तो क्रीयाशिल हुन सकिरहेकका छैनन् । किन त ? यश कुराको गहिरो अध्ययन गर्ने कि नगर्ने ?
पार्टी भित्र अनावश्यक गुटबन्दी, मुल्यांकनको अभाव जस्ता कुराले वास्तविक क्रीयाशिल साथीहरू निराश हुँदै गै रहेका छन । आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन रूख चिन्हमा न्युनतम ३० लाख मतदाता थप्नुपर्ने हुन्छ ।
पार्टीमा क्रीयाशिल हुन नसक्ने तर जबर्जस्त क्रीयाशिल सदस्यता थप्दैमा ३० लाख मतदाता थप्न सकिंदैन । ‘युद्ध जित्न धेरै लाखौं सेनाहरू भएर हुँदैन, थोरै होस तर युद्धकलामा निपूर्ण, वीर सहासी सेनाहरू भएमा मात्र युद्ध जित्न सकिन्छ ।’
त्यसैले पार्टी भित्र गुटबन्दी हटाई, कार्यकर्ताहरूको न्यायोचित मुल्यांकन गर्दै, उनिहरूमा जोश, जाँगर र उत्साह भर्न सकियो भनेमात्र कांग्रेस वास्तविक क्रीयाशिल पार्टी हुन्छ शक्तिशाली बन्छ । त्यसैले नेपाली कांग्रेस भित्रको क्रीयाशिलता बढाउन क्रीयाशिल सदस्यता थपेर होइन, भएका क्रीयाशिल सदस्यहरूको क्रीयाशिलता बढाउन आवश्यक छ ।
क्रीयाशिल सदस्यताको संख्यात्मक वृद्धि भन्दापनि गुणात्मक वृद्धि तर्फ ध्यान केन्द्रित हुनुपर्छ । नेपाली कांग्रेसको साधारण सदस्य चाहिँ व्यापक रूपमा वितरण गरिनुपर्छ । जय नेपाल !
(लेखक नेपाली कांग्रेस चितवनका पूर्व उपाध्यक्ष हुन)





















प्रतिक्रिया