Logo

टिप्पणी

ओली सरकार ढाल्ने रणनीतिमा प्रचण्ड र वामदेव



प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले दुई बर्षे कार्यकाल पूरा भएको एकदिनपछि नै प्रधानमन्त्री ओलीले झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भै रहेको खुलासा गरेका छन् । सरकारले आफ्नो दुई बर्षे कार्यकाल पूरा गरेको भोलिपल्टै आएको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भित्र अहिलेको अवस्थामा प्रधानमन्त्री ओली अल्पमतमा परेको देखिन्छन् । पार्टी अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक ओलीले आफ्नो गुटको भेला केहिदिन अगाडि बोलाएर आफ्नो शक्ति परिक्षण गरेपछि ओली अझै सशंकित देखिएका छन् । आफू अल्पमतमा परेको स्वीकार गर्दै ओली अहिले पूर्वएमाले समूहलाई एकत्रित गर्न लागिपरेका छन् तर सकिरहेका छैनन् ।

‘संविधान अनुसार पनि अब सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ढोका समेत खुलेको छ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संसदमा स्पष्ट बहुमत रहेपनि उनी आफैं भने अल्पमतमा रहनु ओलीका लागि साँच्चै चुनौतीपूर्ण देखिंदै छ । आफू नेतृत्वको सरकारलाई दुई तिहाइ बनाउने प्रयासस्वरूप राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने उनको योजना छिमेकी भारत र आफ्नै पार्टीका ‘को-पाइलट’को योजनामा पूरा नभएको बताइन्छ ।’

ओलीलाई पूरा पाँच बर्ष नै प्रधानमन्त्री बन्न सहमति दिएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रती ओली पूर्ण रूपमा विश्वास गर्न सक्ने अवस्थामा नरहेको बताइन्छ । अर्कोतिर यो कार्यकालमा प्रधानमन्त्री हुन इच्छुक नरहेका प्रचण्ड ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिन तैयार हुन्छन् नै भन्ने कुराको कुनै भरोसा पनि प्रधानमन्त्री ओलीलाई नभएको उनी निकट स्रोतको दावी छ ।

खासगरी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा प्रधानमन्त्री ओली उपस्तिथित नभएपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले यसको जवाफ उपयुक्त समयमा प्रधानमन्त्री ओलीलाई दिने प्रचण्डको तयारीपछि ओली झस्किएको बताइन्छ । खासगरी कार्यकारी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम जुनसुकै मुल्यमा ओली सरकार विस्थापन गर्ने रणनीतिमा रहेको प्रधानमन्त्री ओलीको बुझाइ रहेको एक नेताले नाम नबताउने सर्तमा अनलाइपानालाई जानकारी दिए ।

‘अर्कोतिर प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पनि सरकार ढाल्न तानाबाना बुनिरहेको सूचना प्राप्त भएको सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । उनले अझ त्यसभन्दा एक कदम अगाडि बढेर सरकार ढाल्न को-को संलग्न छन् त्यसको अनुसन्धान जारी रहेको अभिव्यक्ति दिनुले पनि ओली नेतृत्वको सरकारको निरन्तरतामा नेकपा भित्रबाट नै प्रश्न उठ्न थालेको अर्थका रूपमा लिन सकिन्छ ।’

२०४८ सालमा नेपाली कांग्रेसले पूर्ण बहुमत पाएको बेला समेत कांग्रेस भित्रै छत्तीसे र चौहत्तरे समूह खडा गरि पूर्ण कार्यकाल काम गर्न नदिएको प्रसंग उल्लेख गर्दै डा. भट्टराईले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई पनि पार्टी भित्रै बाट असहयोग र चुनौती रहेको स्वीकार गरेका हुन् ।

अर्कोतिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध पूर्णत आपराधिक भएको ठोकुवा गर्नु र प्रधानमन्त्री जनयुद्ध दिवसमा सहभागी नहुनुलाई संयोग मात्र नरहेको भन्दै प्रधानमन्त्रीबाट ओलीको बहिर्गनलाई एजेन्डाकै रूपमा अगाडि बढाउन प्रचण्डलाई दबाब दिइरहेको बताइन्छ ।

ओली सरकार विस्थापनको उक्त योजनामा कार्यकारी अध्यक्ष प्रचण्डलाई उपाध्यक्ष वामदेब गौतमको समेत साथ रहेको बताइन्छ । गौतम, प्रचण्ड र ओलीपछि अहिले तेस्रो शक्तिशाली गुटका हर्ताकर्ता रहेको मानिन्छ । यसले पनि ओली सरकारको भविष्य अहिले नै यसै हो भन्न सकिने अवस्था छैन ।

‘अहिले नेकपाभित्र चलिरहेको अमेरिकी सहायता सम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धि विवादलाई पनि सरकार परिवर्तनको खेलसँगै जोडेर हेरिंदै छ । ओली बाहेक नेकपाका प्रभावशाली नेताहरू यात मौन छन् यात एमसीसीको विरोधमा देखिन्छन् । एमसीसी संसदबाट पारित नभएमा ओली सरकार अप्ठ्यारोमा पर्ने यो समूहको आकलन छ ।’ प्रधानमन्त्री ओलीले संसदमै सम्बोधनको क्रममा सभामुखले संसदमा जहिले प्रस्ताव अगाडि बढाउनुहुन्छ त्यति नै बेला एमसीसी पारित हुने भन्दै एमसीसी आफ्नो कोर्टमा नरहेको स्पष्ट पारीसकेका छन् ।

यति मात्रै होइन सरकारको दुई बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्नु अगावै प्रचण्डले आफू देशभर जाँदा पनि सरकारबारे सकारात्मक टिप्पणी नसुनेको उल्लेख गर्दै सरकार सफल भएको भन्न नमिल्ने भन्दै सरकारको विरोधमा उत्रिएको छर्लङ्ग हुनुले पनि ओली सरकारको निरन्तरतामा प्रश्न उठेको छ ।

सारङ्गी र बाँसुरी कुटनीति मार्फत पूर्ण एमाले समूहका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँगको दुरी कम गर्न प्रधानमन्त्री ओली सफल भए पनि प्रधानमन्त्रीमा निरन्तरताको लागि यति नै काफी नहुने जानकारहरूको भनाइ छ ।

स्वंय प्रधानमन्त्री ओलीले समेत सरकार ढाल्ने षडयन्त्र भएको खुलासा गर्नुले पनि केही न केही खिचडी पाकिरहेको संकेत भने पक्के गरेकै छ । कार्यकारी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमको रणनीतिको प्रतिउत्तर प्रधानमन्त्री ओलीले कसरी दिन्छन् त्यसले नै यो सरकारको भविष्य तय हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १२:४८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।