Logo

अनलाइनपाना खोज

ओलीलाई हटाउने रणनीतिमा नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक



वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत गरी राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगरी यही निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनेसम्मको कार्यकारी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको स्रोतको दाबी छ । ओलीलाई हटाउने रणनीतिमा माधव नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक भएका हुन् । नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णयमाथि प्रधानमन्त्रीले असहमति जनाएका थिए ।

उनको असहमति सचिवालय बैठकको निर्णयभन्दा पनि यसको नियत र प्रक्रियाप्रति थियो । पार्टीले सरकारलाई आग्रह गर्नसक्ने तर पलानोलाई नै गर भनेर बाध्य पार्न नहुने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीको अर्को भनाई चाहिँ प्रधानमन्त्री हुनेगरी संविधान संशोधन नभएसम्म राष्ट्रिय सभामा नजाने अडानमा रहेका वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत भएर सांसदमात्र हुन किन तयार भए ?

प्रधानमन्त्री यहीबाट झस्किए । जबकि २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न ओलीले नै सचिवायमा वामदेवको नाम प्रस्ताव गर्दा उनले अस्वीकार गरेका थिए ।

प्रचण्डको चलखेल

संविधान संशोधन कार्यदल गठन लगत्तै ठूलो विरोध भएपछि नेकपा नेतृत्व वामदेव गौतमको चाहना पूरा गर्ने बाटोबाट ब्याक भए । यसबीचमा प्रचण्डले अर्को चलखेल शुरु गरेको सूचना बालुवाटारले पाइसकेको थियो । प्रचण्डले शेरबहादुर देउवासँग पनि छलफल गरेको बालुवाटारले जानकारी पायो । जुन छलफलमा विनोद चौधरी समेत संलग्न थिए ।

अर्थमन्त्री खतिवडाको बचाउ

अर्थमन्त्री डा।युवराज खतिवडा निकटस्थहरुका अनुसार, विनोद चौधरी, अजय सुमार्गी, उपेन्द्र महतोलगायतका व्यापारी अर्थमन्त्री डा.युवराज खतिवडासँग रुष्ट छन् । सुमार्गीको स्रोत नखुलेको पैसा राष्ट्र बैंकबाट रोक्नेदेखि धेरै अपरादर्शी आर्थिक गतिवधिमा खतिवडा बाधक भएको प्रचार पनि अहिले भइरहेको छ । त्यसैले अर्थमन्त्री डा.युवराज खतिवडाको निरन्तरता रोक्नका लागि वामदेव उपयुक्त पात्र देखे । प्रचण्डमार्फत वामदेवलाई राष्ट्रपतिबाट मनोनीत हुन सहमत गराए ।

त्यसपछि प्रधानमन्त्री झस्किए

वामदेवलाई सहमत गराउन दीपक भट्ट प्रयोग भएको सूचना पनि बालुवाटारले पाएपछि अध्यक्ष ओली सचिवालयको निर्णयप्रति झस्किए । उनले तत्कालै माधव नेपाललाई बोलाएर सबै चलखेलका विवरण सुनाउँदै केही व्यापारीको स्वार्थपूर्ति गर्न आफूले अर्थमन्त्री खतिवडालाई नहटाउने जानकारी गराए ।

त्यसपछि नेकपा झण्डै झण्डै दुर्घटनातर्फ जान लागेको समाचार प्रवाह भयो । झलनाथ खनालले पार्टी निर्णय कार्यान्वयन नगरे ओलीले पार्टी छाड्नुपर्ने अभिव्यक्ति दिए । जबकि खनाल तिनै नेता हुन्, जसले तत्कालीन एमालेका स्थायी कमिटीले गृहमन्त्री विष्णु पौडेललाई बनाउन दिएको निर्देशन नमानी कृष्णबहादुर महरालाई बनाएका थिए ।

प्रचण्डले यसबीचमा ओलीलाई हटाउनेसम्मको गतिविधि गरेको माधव नेपाललाई मन नपरेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जति पेले पनि सरकार अस्थिर हुने खालका गतिविधि गर्न नहुने पक्षमा नेपालको स्रोत बताउँछ । नेपाल यसबीचमा मध्यस्थकर्ताको भूमिकामा देखिन खोजे ।

यद्यपि सचिवालयले निर्णय गरिसकेपछि त्यसलाई मान्दिन भन्न नमिल्ने उनको भनाइ थियो । बरु खतिवडालाई पनि अर्थमन्त्रीमा निरन्तर राख्ने र वामदेवलाई मनोनित गर्ने बीचको बाटो खोजियो जसमा महासचिव विष्णु पौडेल पनि खटिए, साँघुमा उल्लेख छ ।

सेलायो वामदेव प्रकरण

प्रधानमन्त्री ओलीलाई अप्ठेरो पार्न खोजिएकै बेला उनले २०७६ फागुन १८ गते आइतबार सचिवालय बैठक बोलाएर आफू मृगौला पुनः प्रत्यारोपणमा जान लागेको सुनाए । त्यसपछि वामदेव प्रकरण सेलाएको छ । प्रधानमन्त्री अस्पतालबाट नफर्किएसम्म सम्भवतः मन्त्रिपरिषद् बैठक बस्नेछैन र वामदेवको निर्णय कार्यन्वयन हुने पनि छैन । त्यतिन्जेल घटनाक्रम कहाँ पुग्ने हो, त्यस आधारमा निर्णय हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार १८:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।