Logo

राजनीति

नेपाली कांग्रेसभित्र समेत बहुअध्यक्षात्मक प्रणालीबारे बहस सुरु



नेपालका राजनीतिक दलहरु नेता व्यवस्थापनको प्रश्न पेचिलो बन्न थालेपछि बहुअध्यक्षात्मक प्रणाली अंगीकार गर्न थालेका छन् । तर, गुटबन्दीको प्रभाव, भागबन्डा मिलाउन, नेताको व्यवस्थापन र नेतृत्वप्रतिको अविश्वास मत्थर पार्ने सजिलो अस्त्र बनेको यो प्रणाली कुनैपनि दलभित्र सफल भएको छैन ।

सत्तारुढ दल नेकपा, मधेसकेन्द्रित दल राजपा, समाजवादी पार्टी र राप्रपापछि अहिले नेपाली कांग्रेसभित्रसमेत बहुअध्यक्षात्मक प्रणालीबारे बहस सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले बहुअध्यक्षात्मक प्रणालीको अभ्यास गरिरहेका छन् ।

यी दलहरुको सिको गर्दै मुलुककै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्रसमेत अहिले बहुअध्यक्षात्मक प्रणालीबारे बहस सुरु भएको छ । पार्टीको १४औं महाधिवेशनको संघारमा रहेको कांग्रेसभित्र नेता व्यवस्थापन लगाउने र गुटगत राजनीतिलाई भुत्तो बनाउने अस्त्र ठानिएको यो प्रणालीबारे बहस सुरु हुनुलाई अर्थपूर्ण मान्न सकिन्छ ।

कांग्रेसभित्र अहिले सर्वमान्य नेता नभएको, पार्टीभित्र गुटगत विवाद बढेको र एक गुटको नेताले अर्को गुटको नेतालाई सम्मान गर्ने अवस्थासमेत नरहेको अवस्थामा यो प्रणाली विकल्प बन्न सक्ने केन्द्रीय नेताहरुकै धारणा छ । नेपाली कांग्रेसभित्र विवाद, गुटबन्दी र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति बाढ्दो छ ।

त्यसैले पनि पार्टीभित्रैबाट विद्यमान संकट चिर्न बहुअध्यक्षात्मक प्रणाली उपयुक्त विकल्प बन्नसक्ने बहस सुरु भएको हो । तर, विवाद र नेता व्यवस्थापनकै लागि बहुअध्यक्षात्मक प्रणालीमा गएका नेकपा, राजपा, समाजवादी पार्टी आन्तरिक गुटबन्दी र विवादबाट मुक्त छैनन् ।

तैपनि, कांग्रेसभित्रको गुटबन्दी र विवादको प्रकृति फरक भएकाले बहुअध्यक्षात्मक प्रणाली अपनाउँदा कांग्रेस थप संगठित र एकताबद्ध बन्नसक्ने जिकिर नेताहरुको छ । हुन त राजनीतिक मामिलाका विज्ञहरु बहुअध्यक्षात्मक प्रणालीको अभ्यासलाई नै गलत ठान्छन् ।

उनीहरुकाअनुसार नेपालमा जुन–जुन दलले यो अभ्यास गरिरहेका छन्, त्यो केवल नेतृत्वप्रतिको अविश्वास घटाउन, गुटबन्दी र भागबन्डा मिलाउनका लागिमात्र प्रयोग गरिएको विकल्प हो । जुन राजनीतिक दलका निम्ति कालान्तरमा अनुत्पादक सावित हुनसक्छ ।

राजनीतिक दलभित्र दलीय प्रणाली मजबुद् हुनुपर्छ । वैचारिक बहस र प्रजातान्त्रिक अभ्यास जीवन्त पार्टीका निम्ति प्राणवायु नै मानिन्छ । तर, भागबन्डा मिलाउन र आफ्नो गुट बलियो देखाउन अग्रसर दलहरुमा भने धमाधम यही पद व्यवस्थापनको अभ्यास हावी भइरहेको छ । त्यसैको निरन्तरताः बहुअध्यक्षात्मक प्रणाली हो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १०:१२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।