चलचित्र कलाकारले घरमै बसेर कोरोनाविरुद्ध सुरक्षित रहन सामाजिक सञ्जालमार्फत भिडियो अपिल जारी गरेका छन् । चलचित्र उद्योगका सम्पूर्ण गतिविधि बन्द भएपछि आफूहरू घरमै सुरक्षित रहेको अभिनेता अभिनेत्रीले बताएका छन् ।
२८ चैतको प्रदर्शन स्थगित गरेर घरमा सुरक्षित बस्दै आएका प्रेमगीत ३ का अभिनेता प्रदीप खड्काले आइतबार एक भिडियो सार्वजनिक गर्र्दै कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आपिल गरेका छन् । विश्वव्यापी रूपमा कोरोनाको संक्रमण हटेपछि आफूहरूले चलचित्रको रिलिज गर्ने बताउँदै सरकारको निर्देशनबमोजिम अहिले घरमै बस्न यी अभिनेताले भिडियोमार्फत सबैलाई आह्वान गरेका छन् ।
मुलुकमा कोरोना भाइरसको उच्च जोखिमसँगै सन्त्रास बढेको बेला कलाकार चुपचाप भए भन्ने टिप्पणी मिडियादेखि सामाजिक सञ्जालमा शनिबार आएको थियो । त्यसपछि आइतबार विभिन्न कलाकारले भिडियोमार्फत कोरोनाविरुद्धको सचेतनाका लागि आपिल गरेका छन् ।
कोरोना भाइसर विश्वव्यापी रूपमा फैलँदा गर्दा यस्तो बेला सबैले आफूलाई सुरक्षित राख्नुपर्ने अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भिडियोमार्फत बताएकी छन् । उनले सबैलाई घरमा बस्न आह्वान पनि गरेकी छन् । आइतबार उनले एक भिडियो अपिल सामाजिक सञ्जालमा सार्वजनिक गर्दै यस्तो अनुरोध गरेकी हुन् । अहिलेको समय आफू पनि जोगिने र अरूलाई पनि जोगाउने समय भएकाले कत्ति पनि लापरबाही नगर्न उनको अनुरोध छ ।
हास्यव्यांग्य अभिनेता दीपकराज गिरीले करिब ७ मिनटको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै सबैलाई कोरोना भाइरसको उच्च जोखिमबाट आफूलाई सुरक्षित राख्न आह्वान गरेका छन् । सरकारले यतिबेला सराहनीय कार्य गरेको र हामी आम जनताको रक्षाका लागि सरकार लागिरहेको उनको कथन छ । यस्तो अवस्थामा हामीले घरमै सुरक्षित बसेर आफूलाई सुरक्षित राख्नुका साथै सरकारको यो अभियानलाई साथ दिनुपर्ने अनुरोध पनि अभिनेता दीपकराज गिरीले गरेका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५० नाघेको र हाम्रो खुला सिमाना भएका कारण हामीहरू उच्च जोखिममा रहेको पनि गिरीले आफ्नो भिडियो अपिलमा बताएका छन् । यस्तो अवस्थामा हामीले घरमै सेल्फ क्वारेन्टाइनमा आफूलाई दुई सातासम्म राखेर सुरक्षित रहनुपर्ने उनको सुझाब छ ।
भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका सीताराम कट्टेल (धुर्मस), कुन्जना घिमिरे (सुन्तली) र कुमार कट्टेल (जिग्री)ले सँयुक्त रूपमा एक भडियो अपिल जारी गरेका छन् । मुलुकमा कोरोना सँक्रमणका सँभावना उच्च रहेकाले आफुहरूले रँगशालाको निर्माण स्थगित गरेको बताएका छन् । यी तीन कलाकारले आइतबार संयुक्त भिडियो अपिल सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अहिलेको अवस्थामा सबैलाई घरमै सुरक्षित रहने आग्रह गरेका छन् । बिगतमा हरेक संकटमा आफूहरू सामाजिक अभियानमा जुटे पनि अहिलेको अवस्थामा घरमै सुरक्षित रूपमा बस्नु आवस्य भएकाले आफूहरू घरमै बस्न थालेको यी तीन कलाकारको भनाइ छ । उनीहरूले सबैलाई घरमै बसेर आफूहरूलाई कोरोनाबाट सुरक्षित राख्न अपिल गरेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले आइतबार एक भिडियो सार्वजनिक गर्दै कोरोनाको संक्रमणबाट बच्न अरूसँग भेटघाट बन्द गरेर घरमै बस्न सबैलाई आह्वान गरेकी छन् । ज्यानभन्दा ठूला कुरा केही नभएकाले यतिबेला सबैले आफूलाई सुरक्षित राख्नुपर्ने उनको अनुरोध छ । सरकारले जनहितका लागि जारी गरेको सूचना पुनः स्मरण गराउँदै उनले कोरोनाबाट सुरक्षित रहन सबैलाई भिडियो सन्देशमार्फत सबैलाई आह्वान गरेकी छन् ।
अर्का हास्य अभिनेता जितु नेपालले पनि आइतबार सामाजिक सञ्जालमा भिडियो अपिल जारी गर्दै राम्ररी मिचिमिचि साबन पानीले हात धुन, आत्यावस्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिक्लन, मास्क लगाएर बस्न अपिल गरेका छन् । उनले पनि सरकारको अहिलेको निर्देशनलाई पालना गर्न अनुरोध गरेका छन् ।
अभिनेत्री ऋचा शर्मा पनि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रस्तुत भएर कोरोनाविरुद्ध दर्शकलाई सुरक्षित रहन अपिल गरेकी छन् । सरकारले अहिले जनहितका लागि जारी गरेको सूचनालाई पुनः स्मरण गराउँदै अभिनेत्री यसलाई पालना गर्न उनले सबैलाई आह्वान गरेकी छन् ।
अर्की अभिनेत्री निता ढुंगानाले आफू घरमा सुरक्षित रूपमा सेल्फ क्वारेन्टाइनमा रहेको बताएकी छन् । उनले अरूलाई पनि घरमै रहन अनुरोध गरेकी छन् । अत्यावश्यक कामले घरबाहिर जाँदा कसैलाई नछुने, भीडबाट टाढा रहेन, मास्क लगाउने, घर फर्किएपछि साबुन पानीले राम्ररी हात धुने, सेनिटाइजर हातमा लगाएर हात सफा गर्नेजस्ता जनहितको सन्देशलाई यी अभिनेत्रीले पनि आफ्नो भिडियो बक्तत्वमार्फत अपिल गरेकी छन् ।
हास्य अभिनेता विल्सन विक्रम राईले पनि घरमै बसेर सामाजिक सञ्जालमा भिडियो सन्देश सम्प्रेषण गरेका छन् । अहिलेको अवस्थामा सम्पूर्ण काम छाडेर घरमै सेल्फ क्वारेन्टाइनमा सुरक्षित बस्नुपर्ने उनको अनुरोध छ ।





















प्रतिक्रिया