Logo

कर्णाली प्रदेश

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगित



सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको थियो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

कोरोनाले विश्वभर त्रास फैलाएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो । तर, कोरोनासंक्रमण रोकिनुको साटो अझ परिस्थिति जटिल बन्दै गएपछि अहिले आवातजावत बन्द भएको छ । धेरैजस्तो देश लकडाउन हुनुको साथै एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउण्डेड भएका छन् ।

सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो ।

७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, भ्रमण वर्षको चौथो महिनामै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो । यस वर्ष मुलुकले तेस्रो नेपाल भ्रमण वर्ष मनाइरहेको थियो । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार १७:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।