Logo

अन्तर्राष्ट्रिय

चीनबाट फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा विश्वको नेतृत्व लिँदै भारत



भारतले भर्खरैमात्र कोरोना भाइरसविरुद्ध उपचारका लागि उपयोगी मलेरिया औषधि हाइड्रोक्सीक्लोरोक्वीन माथिको निर्यात प्रतिबन्ध फुकुवा गरेको छ। संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको उपचारमा यो औषधि उपयोगी देखिएको भन्दै प्रयोगको अनुमति दिएको छ।

ठीक यसैबेला निर्यातमा प्रतिबन्ध लगाएको यो औषधि उत्पादन गर्ने ठूला उत्पादकमध्येको एक भारतले मंगलबारदेखि पुन निर्यात गर्ने निर्णय गर्‍यो। यो निर्णय पुरै विश्वमात्र होइन मानव जातिको हीतमा थियो। त्यसैले त राष्ट्रपति ट्रम्पले भारत र भारतीय जनता र मोदीलाई धन्यवाद दिए।

प्रतिबन्ध हटाउने निर्णयको स्वागत गर्दै ट्रम्पले ट्वीटरमा लेखे, ‘असाधारण समयमा मित्रहरुबीच घनिष्ठ सहयोग आवश्यक छ। हाइड्रोक्सीक्लोरोक्वीनमा भएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद। तपाईंहरुको यो गुन बिर्सिने छैनौं। धन्यवाद प्रधानमन्त्री मोदी। तपाईको कुशल नेतृत्वले कोरोनाविरुद्धको लडाईंमा भारत मात्र होइन मानव जातिलाई नै सहयोग पुग्नेछ।’

विश्वको सुपर पावर अमेरिकाका राष्ट्रपतिले भारतलाई मान्नुले कोरोना भाइरसविरुद्धको लडाईंमा भारतले विश्वको नेतृत्व लिइरहेको प्रष्ट हुन्छ। ट्रम्प मात्र होइन विश्वका अन्य शक्ति राष्ट्रका नेताले पनि भारतको प्रशंसा गरिरहेका छन्।

भारतले सुरुवाती चरणमा विश्वका विभिन्न देशलाई हाइड्रोक्सीक्लोरोक्वीन उपलब्ध गराउन घोषणा गरेको छ। जसमा अमेरिका, युरोप, स्पेन, जर्मनी, इजरायल, ब्राजिल, छिमेकी देशहरु नेपाल, भुटान, भुटान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश, हिन्दमहासागर क्षेत्रका सेचेल्स र मौरिटिअस, साउथ अफ्रिका डोमिनिकन रिपब्लिक, बहराइन रहेका छन्। प्राणघातक कोरोना भाइरसविरुद्ध भारतले औषधिमार्फत विश्वको नेतृत्व गर्न लागेको छ। भनिन्छ, कुशल नेतृत्व संकटको बेला देखिन्छ। जुन भारतले देखाइरहेको छ।

विश्व कोभिड १९ महामारीविरुद्ध लडिरहेका बेला, भाइरसको निर्यात गरेको चीनको गैरजिम्मेवारीपन, नक्कली स्वास्थ्य सामग्री दिएर प्रचारबाजी गरिरहेका बेला भारत सरकारले हाइड्रोक्सीक्लोरोक्वीन प्रदान गरेर विश्वका शक्ति राष्ट्रलाई सहयोग गरेर आफ्नै तरिकाले लडाईलाई अगाडि बढाइरहेको छ।
अमेरिका, इजरायल र ब्राजिल जस्ता अग्रणी राष्ट्रहरूमा भारतले यो औषधि पठाएको छ। जुन रोगविरुद्धको लडाईमा गेमचेन्जर हो। सबै देशका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहायता स्वीकार गर्दै प्रशंसा गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई कोभिड १९ प्रभावित राष्ट्रहरूमा मलेरिया औषधि हाइड्रोक्सीक्लोरोक्वीन निर्यात गर्ने भारतको निर्णयपछि‘महान’ भन्दै प्रशंसा गरे। आफूलाई चाहिने भए पनि मित्रलाई सहयोग गरेको भन्दै मोदीलाई महानताका लागि ट्रम्पले धन्यवाद दिए। संकटको बीचमा भारतले आफ्नो फराकिलो छाति देखाउँदै महामारी भाइरसले नराम्ररी प्रभावित भएका देशलाई कोभिड १९ को उपचारमा जोडिएको यो औषधि आपूर्ति गर्ने घोषणा गर्‍यो।

ब्राजिलका राष्ट्रपति जैर बोल्सनोरोले त्रेतायुगमा भगवान रामका भाई लक्ष्मणको ज्यान बचाउन हनुमानले हिमालयबाट पवित्र औषधि ल्याएको स्मरण गर्दै आफ्नो राष्ट्रलाई हाइड्रोक्सीक्लोरोक्वीनको आपूर्तिका लागि भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेका थिए। औषधि आपूर्ति भएपछि राष्ट्रपति बोल्सनोरोले ट्वीटरमार्फत मोदीलाई धन्यवाद दिएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि कोविड १९ को सम्भावित उपचार मानिँदै आएको हाइड्रोक्सीक्लोरोक्वाइन औषधि पठाएकोमा मोदीलाई धन्यवाद दिए। भारतीय प्रधानमन्त्रीले सबै देशका समकक्षीलाई ट्वीटरमार्फत सबै देशले एकसाथ यस रोगसँग लड्न आवश्यक रहेका बताएका छन्। मोदीले फराकिलो छाति देखाउँदै लेखे, ‘हामीले संयुक्त रूपमा यो महामारीको बिरूद्ध लड्नै पर्छ। भारत आफ्ना मित्रहरुलाई सक्दो सहयोग गर्न तयार छ ।’

सार्कमा पनि अग्रसरता विश्वकै नेतृत्व लिइरहेको भारतले सुरुमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा नेतृत्वदायी भूमिका खेलेको छ। सार्क देशका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा मोदीको नेतृत्वको प्रशंसा पनि भयो। उनले परिस्थितिलाई कोभिड १९ आपतकालिन कोषको प्रस्ताव गरे। कोषमा भारतले १० लाख अमेरिकी डलर योगदान गर्ने घोषणा पनि गरे। शुक्रबार मात्रै मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमार्फत कुरा गरेर महामारीविरुद्ध लड्न चालेका कदमको प्रशंसा गर्दै आवश्यक सहयोग गर्न बचन पनि दिए।

विश्व र क्षेत्रीय संगठनमा सक्रिय मोदी आफ्नै देशभित्र पनि ठूलो आकारको आर्थिक प्याकेजको घोषणा गरेर प्रशंसाका पात्र बनेका छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले नै भारतले ल्याएका राहत प्याकेजको खुलेर प्रशंसा गरेका छन्। गृहणी महिलाहरुलाई खातामै पैसा पठाइदिने, विपन्नलाई खाद्यान्न, ऋण माफ लगायत गरिब मजदुर र विपन्न वर्गका लागि खरबौका प्याकेज मोदीले घोषणा गरेका थिए।

यी प्याकेजहरु विश्वकै लागि उदाहरणीय ठहरिएका छन्। विश्वका नेताले सकारात्मक रुपमा लिएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले हालसालै कोभिड १९ महामारीको सामाजिक, आर्थिक र स्वास्थ्य प्रभावको सामना गरिरहेका क्यानेडियनहरूका लागि खानामा पहुँच सुधार गर्न १०० मिलियन डलरको लगानी घोषणा गरे। यो भारतबाटै अनुशरण गरिएको प्याकेज हो।

त्यसो त भारत विपन्नलाई राहत सहयोग पुर्‍याउन विश्व सुपर पावर अमेरिकाभन्दा अगाडि देखिएको छ। यी सबै तथ्यांक हेर्ने हो भने कोरोना विरुद्धकझ लडाईमा भारतले कुशल नेतृत्व बहन गरिरहेको छ। चीन आफ्नो व्यापारमा लागेर विश्वको शक्तिशाली बन्ने दौडमा रहेका बेला भारत भने मानवीयता देखाउँदै विश्वभर कोरोनासँग लड्न अग्रमोर्चामा उभिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार १२:२०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।