डिसेम्बर ३१ मा चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को भयाभय बिश्वब्यापी बनेको छ। यसको भयानक संक्रमणका कारण मानबजाति आतंकित र त्रसित छ। बिश्वमा झण्डै २४ लाख भन्दा बढी संक्रमित भएका छन्। यो संक्रमण नियत्रण हुन सकेको छैन। बिश्व बन्दाबन्दी छ। वर्तमान दैनिकी झेल्न उकुमुकुसमा बाचेको जनजीवनका लागि भोलि आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्रमा पर्ने डरलाग्दो स्थिति निरासाबादी पर्खाल बनेर उभिएको छ । यसको निरोधका लागि खोप बनिसकेको छैन। बिश्वका प्रसिद्ध अनुसन्धानकर्ताहरु महिनौ देखि ल्याबहरु भित्र दत्तचित्त भएर अनुसन्धानमा खटेका छन्। यो लेख तयार पार्दा सम्म बिश्वमा ६२३,९११ संक्रमित निको भएर घर फर्किएका छन् भने १६५,१०६ को मृत्यु भएको छ।
चीन, दक्षिण कोरिया, इरान हुदै युरोप र अमेरिकामा फैलिएको यो बिषाणु पहिलो पटक २४ जनवरीमा नेपालमा पनी भेटिएको हो। यो बीचमा सरकारले संक्रमण फैलिन नदिन देशभरी स्वास्थ्य सुरक्षा सामग्री पुर्याउने, औषधी र उपकरणहरु उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई बिशेषज्ञबाट आवश्यक तालिमबाट प्रशिक्षित गर्ने, र संक्रमण रोक्न ब्यापक जनचेतना फैलाउने कामहरु गरियाे। नेपालमा दोस्रो ब्यक्तिमा संक्रमण २३ मार्चमा देखियो। यी संक्रमणहरु बिदेशबाट आएका ब्यक्तिहरुका कारण फैलिएको हुदा यसबीचमा सरकारले संक्रमणको फैलावट रोक्न अन्तराष्ट्रिय बिमानस्थलमा हेल्थ डेस्क राख्ने, भारतीय सिमानाकामा चेकजाच केन्द्रको स्थापना, चीन र भारतका नाकाबन्द अन्तराष्ट्रिय उडानहरु स्थगित गरियो।
आजसम्म आइपुग्दा नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये पहिलो र दोस्रो सहित ४ जना निको भएर घर गइसकेका छन् भने २७ जनाको उपचार भइरहेको छ । मृत्यु हुनेको संख्या शुन्य छ । संभावित सबैको परिक्षण भइरहेकोछ । चैत ११ देखि लकडाउन प्रारम्भ भयो । प्रत्येक दिन स्वास्थ्य मन्त्रालयले सरकारका नीति, क्वारिन्टिन, रेपिड टेष्ट, संक्रमणको फैलावट, सातवटै प्रदेशको स्थिति तथ्याकं सहित पत्रकार सम्मेलन मार्फत अपडेट गराउदै आएको छ ।
तीनै तहका सरकारहरु केन्द्र, प्रदेश र स्थानीय संक्रमण रोक्न र संक्रमितको उपचारमा अहोरात्र खटिरहेका छन् । जनचेतना फैलाउन सामाजिक संञ्जालको प्रयोग, गाँउटोलमा माइकिङ, स्वास्थ्य स्वंयसेवकको परिचालन लगायतका कामहरु द्रुत गतिमा भइरहेको छ । क्वारिन्टिन, आइसोलेसन, पी.पी.ई., लकडाउन, सोसियल डिस्टेन्स जस्ता शब्दसित सबै परिचित बन्दै छन्। संभाबितको परिक्षण गर्ने, संक्रमितबाट असंक्रमितलाइ पुरापुर अलग्याउने, संक्रमितसंग सम्पर्कमा आएकाको ब्यापक खोजी र सघन परिक्षण गरी संक्रमण फैलावट रोक्ने काम भैरहेको छ।
यो महाबिपत्तिको संक्रमणबाट कोही अछुतो रहन सक्दैन। यसले कुनै भेदभाव पनि गरेको देखिदैन। यसको फैलावट कुनै बर्ग, क्षेत्र, धर्म जात, लिङ्ग बिशेष छैन। संसारका भोकानाङ्गा, शोषित पिडित देखि अतिबिकसित अत्याधुनिक आणबिक शक्ति सम्पन्न मुलुक पनि यो सुक्ष्म जिबाणुका अगाडि निरिह बन्न बिबस छन्। चार महिनाको समयान्तरमा बिश्व परिस्थितिले ठूलो फेरबदल लिएको छ। बिश्व नै एउटा कोठाभित्र बन्दीरुपमा निरिह बनेको बेला समस्यामा सबै परेका छन्।
श्रम बेचेर बिहान बेलुका छाक टार्ने श्रमिक मजदुरहरु यतिबेला बढि मारमा परेका छन्। जसको ओत लाग्न ठाउ छैन, पेट सिउन गास छैन। कामको खोजीमा गाउ बाहिरिएका लकडाउनले घर फर्किन नपाएका श्रमिकको पिडामा सरकारले मलमपट्टी लगाउने काम सहानिय छ। उनीहरुका लागि सम्बन्धित ठाउमा पुर्याउन गाडीको ब्यबस्था गरिदै छ। प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलबाट सुरुवात भएको यो पहल आज सबै प्रदेश सरकार र स्थानीय सरकारहरुले गरिरहेका छन्।
बिचल्लीमा परेका मानिसलाई सुरक्षित रुपमा खाना खुवाएर गन्तब्यमा पुर्याउन सरकार र संबन्धित निकायहरु जिम्मेवार बनेका छन्। आर्थिक रुपमा आमा बुवामा आश्रित डेरा गरी बस्ने बिद्यार्थीहरु पनि मार्कामा परिरहेका छन्। लकडाउन झण्डै एक महिना पुग्न लाग्यो। घरपेटीले कोठाभाडा माग्छ। बिहान बेलुका पेटका लागि दाल चामल छैन। पकाउन ग्यास पाइदैन। यो असह्य पिडामा जीवन बाचिरहेको छ। यतिबेला हुनेखाने बर्गले हुदाखाने बर्गलाई दिलदेखि सहयोग गर्नुपर्दछ।
राज्य सबैको अभिभावक हो। संकटको बेला हरेक ब्यक्ति राज्यको ओत चाहन्छ। आज थोरबहुत भएपनि राहतको अनुभूति आम मानिसले गर्दैछन्।कसैले भोकै बस्नुपरेको छैन। बिद्यार्थी, श्रमिक, मजदुर जो जहा छ त्यही स्थानीय तहबाट राहत पाइरहेको छ। राज्य बाहेक पनि केही मनकारी ब्यक्ति र संघ संस्थाहरु गरिब दुखीका सहारा बनिरहेका छन्।
अनेरास्वबियूले बिभिन्न संघ संस्थाको सहयोग र स्थानीय सरकारको सहकार्यमा देशभरी मार्कामा परेका बिद्यार्थीलाई राहत उपलब्ध गराइरहेको छ। यो सहयोग मात्रामा थोरै होला तर यसमा मानबीय सहानुभूति निकै भिजेको छ। राहत बितरणमा केही समस्या देखिए। बितरण गर्दा सबैलाई सन्तुष्ट पार्न नसक्नु, सामाजिक दुरी ब्यबस्थित नहुनु, पर्याप्त खाद्य सामग्री बितरण गर्न नसक्नु इत्यादि। राहत लिन जादा लकडाउनले अफ्ट्यारो पार्ने भएकोले अनेरास्वबियूले इ–फोर्म डेभेलप गरेछ छ। अब त्यसकै आधारमा राहत बितरण गरिनेछ।
भनिन्छ, प्रत्येक कालो बादलमा एउटा चादीको घेरा हुन्छ। यो महामारीले पनि सुन्दर भबिस्यको निर्माण गर्न केही सकारात्मक सोच अबस्य श्रृजना गर्नेछ। गतिशील जगतको बोधका लागि मानिस बाच्नु पर्दछ। प्रकृतिको पञ्चतत्वबाट बनेको यो मानब शरीर सबैका लागि प्रिय छ। हाम्रा ज्ञानेन्द्रीयहरुले चेतनाको पैदा गर्दछ। यो चेतनाको कारण मानिस जगतमा सर्बश्रेष्ठ ठानिन्छ। हरेक मानिसले आफ्नो जीवनमा अमुकखालको महत्वाकाक्षां बोकेको हुन्छ। त्यो गन्तब्यको शिखर चुम्न सुन्दर सपना देख्छ। प्रकृतिबाट उत्पत्ति भएको मानबजातिका लागि कहिलेकाही प्रकृति नै महाबिपत्ति बनेर आइलाग्छ। इतिहासका बिभिन्न कालखण्डमा मानिसले प्रकृतिसित संघर्ष गर्दै बिजय हुदै यो स्थितिमा आइपुगेका छ।
कोरोनाको कहरबाट सुरक्षित हुन प्रत्येक ब्यक्तिको महत्वपूर्ण भूमिका रहन्छ। संक्रमणको फैलावट रोक्न सरकारले गरेका काममा हामी सबैको सहयोग आवश्यक हुनेछ। यो सरकारको सत्तोसराप गर्ने समय होइन। रचनात्मक सुझाब दिने बेला हो। यो कुनै राजनीतिक प्रतिरोध साध्ने र राज्यलाई कमजोर बनाउने समय होइन। राज्य कमजोर बन्दा नागरीकको असुरिक्षा बढ्छ। राज्यसित भएका श्रोतसाधनको उचित प्रयोग गरेर यो बिपदबाट जोगिनु नै आजको मुख्य सवाल हो।
आम मानिसमा सकारात्मक सोचको सञ्चार भइरहेको बेला केही प्रायोजित मिडिया र सुकिलामुकिला बुद्धिजिबिहरु सरकारका बिरुद्ध भ्रम छर्दै छन्। कतिपय मानिसहरु नकारात्मक आलोचना गरेरै संसार जितिन्छ भन्ने भ्रममा बाचेका हुन्छन्। काम गर्दै जादा गन्ती हुन सक्छन्। आखिर सरकार र यसका संयन्त्र चलाउने मानिसले नै हो। त्यसकारण आलोचनात्मक चेतका साथ अभिब्यक्ति प्रकट गर्ने र सरकारलाई सही सुझाब दिनु नै यो संकटको बेला उचित हुनेछ।
बिश्वका अब्बल र ठूला अर्थ ब्यबस्था भएका देशहरु जसले शिक्षा, स्वास्थ्य र विज्ञानको क्षेत्रमा उत्कृष्टता हासिल गरेका थिए आज तीनै देशहरु कोरोनाले बढी हायलकायल भएका छन्। बिश्व पुजिबादको बोस अमेरिका, युरोपका शक्तिशाली देशहरु फ्रान्स, इटाली, जर्मन, स्पेन रोग संक्रमणका हिसाबले अग्रपञ्तिमा उभिएका छन्। पछिल्लो समयमा ल्याटिन अमेरिकी देशहरुमा यसको फैलावट बिस्तार हुदैछ। उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोभिड १९ युरोप, अमेरिकामा जति द्रुत गतिमा फैलिएको छ त्यो रफ्तार हेर्दा एसियामा यसको संक्रमण कम देखिन्छ।
नेपालमा चीनिया मोडेलको लकडाउन अपनाइएको छ। अहिले सम्म कुनै मानबिय क्षति छैन। ३१ जना संक्रमित मध्ये ४ जना निको भएर घर फर्किसकेका छन्। संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सबै किसमका पद्धति कडाइकासाथ पालना भएका कारण संक्रमण रोकिएको छ। सरकारले स्वास्थ्यकर्मीहरुका लागि जोखिम अनुसारको प्रोत्साहन भत्ताको घोषणा गरेकोले स्वास्थ्यकर्मीहरु निकै उत्साही बनेका छन्।
सबैले आत्मबिस्वासका साथ आ आफ्नो ठाउबाट कोरोना संक्रमण रोक्न प्रतिबद्ध भएर अगाडि बढेमा र सरकारका नियमको पालना गरी सहयोग गरेमा नेपालले कोरोनामाथि बिना क्षति बिजय प्राप्त गर्नेछ। बैश्विक अर्थ राजनीतिमा हरेक बिपत्तिले नयाँ शक्तिलाई जन्म दिदै आएको छ। शक्ति संघर्ष बिश्वब्यापी भएपनि प्रतिफल युरोप अमेरिका वरीपरी संचित हुने निरन्तरतामा कोरोनाले क्रम भंगता ल्याउने प्रक्षेपण ब्यापक छ। बिश्वका अनुसन्धानकर्ता, राजनीतिज्ञ, अर्थबिद र बिश्लेषहरुका बिश्लेषण अनुसार अबको शक्तिकेन्द्र एसिया बन्ने निस्चित छ। कोरोनाले बिश्व ब्यबस्था फेरिदै गर्दा नेपालको समाजबादी आन्दोलनले पनि सार्थकता पाउने देखिन्छ।
(लेखक :माधब पन्त अनेरास्वबियू का केन्द्रीय सदस्य हुन् )
















प्रतिक्रिया