Logo

विचार / ब्लग

कोरोना महामारीमै झुटका पुलिन्दासँग लुकामारी खेल्दै गरेको दुई तिहाइ ओली सरकार !



भनिन्छ ” पहरासँग सिगौंरी खेल्दा पहरालाई कुनै असर पर्दैन बरु उल्टै पहरासँग सिगौंरी खेल्नेको सिङ जान्छ ।”  दुई तिहाइ बहुमतले मातेको नैतिक रूपमा पतित प्रधानमन्त्री ओली सरकार आफूलाई पहरा सम्झन्छ । यस पतित पहरासँग सिगौंरी खेल्नु संसदीय व्यवस्थामा प्रतिपक्षीको दायित्व र धर्म पनि त हो । तर खै प्रतिपक्षी आफ्ना विगतका कमी कमजोरीहरूका लज्जा ले हो या किन उ आज सरकारलाई खबरदारी गर्नुको सट्टा कुम्भकर्णकै निन्द्रामा सुतिरहेछ ।

म चाहन्छु बरु नेपाली युवाको पहरासँग सिगौंरी खेल्दा सिङ नै जाओस् । तर हामी नेपालीको ऐक्यबद्धता ,सहिष्णुता, सद्भाव,सह-अस्तित्व नैतिकता, स्वतन्त्रता, सार्वभौमिकताका साथै स्वाधीनता र स्वाभिमान नजाओस् । प्रधानमन्त्री ज्यू त्यसैले आज नेपाली युवा प्रतिपक्षीको भूमिकामा सिङ रूपी हात खुट्टा र टाउको फुटाउँदै भ्रष्टाचार, कालोबजारी, बलात्कार, कुरीति, कुसंस्कारका साथै हत्याहिंसा,लगायतका विषयमा तपाईँको सरकार विरुद्ध सडक आउन बाध्य भएको छ।

चीनको वुहान केन्द्रबिन्दु भएर विश्वव्यापी महामारीकै रूपमा संसार भर फैलिएको कोरोनाले मानवीय, आर्थिक, सामाजिक, शैक्षिक,मनोवैज्ञानिक तथा राजनैतिक रूपमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको हामी सबैलाई सर्वविदितै छ ।

कोरोनाकै कारण विश्वमा सन १९३० मा भएको जस्तो डरलाग्दो आर्थिक मन्दी फेरि २०२० मा देखिने आँकलनहरू भइरहेका छन् । एसिया, युरोप ,अमेरिका र अफ्रिकामा पनि अर्थतन्त्र खुम्चिने, ऋणात्मक र दोहोरो ऋणात्मक हुने विश्व बैङ्कको अनुमान रहेको छ । सन १९६१ पछि यस वर्ष एसियाको आर्थिक वृद्धि सबैभन्दा न्यून अङ्कमा हुने एसियाली विकास बैङ्कले प्रक्षेपण गरेको छ । कोरोनाको विश्वव्यापी महामारीले आर्थिक गतिविधिमा असर पारेकोले एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ०.१% मा सीमित रहने बैङ्कले जनाएको छ । यस्तो विषम अवस्थामा हाम्रो नेपाल जस्तो रिमेट्यान्सले धानेको मुलुकमा प्रत्यक्ष प्रभाव नपर्ने त कुरै भएन ?

कोरोनाले मानव जातिलाई सामाजिक दुरी कायम गर्न, कुनै वस्तु छोयो भने साबुन पानीले हात धुने र स्यानिटाइजर हातमा दल्ने, मास्क अनिवार्य प्रयोग गर्ने र अभिवादन टाढैबाट टक्र्याउन बाध्य तुल्यायो । यसले संसारमै सम्पन्न भनिएका देशहरू अमेरिका, बेलायत, फ्रान्स, इटाली, क्यानडा, जापान र चीन जस्ता मुलुकलाई आक्षु-आक्षु पारी ठुलो धनजनको क्षति पुर्‍याइरहेको छ ।

मानिसमा कोरोना लाग्यो भने पनि व्यक्तिको प्रतिरोधात्मक क्षमता बढी भएमा यसलाई मानिसले जित्ने चिकित्सकको दाबी छ । केही हदसम्म तातोपानी पिउनु ,व्यायाम गर्नु र सकारात्मक सोच गर्नु पनि कोरोना कमजोर पार्ने अर्को उपाय हो ।  कोरोनाको अति सङ्कटपूर्ण महामारीमा प्रधानमन्त्री संवेदनशील भएर काम गर्नु को सट्टा दुई तिहाइका दम्भले बेतालमा सबै नेपालीको आत्मा सम्मानमा चोट पर्ने ओठे जबाफ दिँदै हिँड्नु सम्माननीय ज्यू कै लागि त कतै घात हुँदैन ?

प्रधानमन्त्री ओली ज्यू,एक पटक बेलायती प्रधानमन्त्री ‘ विस्टन चर्चिल ‘ (१९४०-१९४५ ,१९५१-१९५५) ले आफ्नो भव्य विजय उत्सव मनाइरहेको बेला सम्बोधन गर्ने क्रममा लाखौँ लाख जनता देखेर उनका सहयोगी मित्रले भनेछन् ‘ सम्माननीय प्रधानमन्त्री ज्यू तपाई महान् नेता हुनुहुन्छ ।अब तपाइले जे गर्दा पनि हुन्छ किनकि तपाईँको पक्षमा यति धेरै बेलायती जनता रहेछन् । ‘ तर उनको कुरा सुनेपछि प्रधानमन्त्री चर्चिलले गम्भीर हुँदै जवाफ दिँदै भने ” हेर मित्र यदि मैले चुनावमा जनतालाई दिएका प्रतिबद्धता र आश्वासन अनुसार काम नगरी जनभावनाको विपरीत हिँडे भने तिमिले यसै स्टेजमा प्रधानमन्त्री चर्चिल लाई मार्न बोलाऊ अहिलेको विजय उत्सवमा उपस्थित भन्दा कयौँ गुण धेरै बेलायती जनता मलाइ मार्न आउनेछन्।”

प्रधानमन्त्री ओली तपाईँले नि एक महान् प्रधानमन्त्री चर्चिको आदर्शलाई मनन गर्न जरुरी छ । तपाईँको दुई तिहाइको सरकार गरिबी, रोग , भोक,अशिक्षा र अज्ञानतामा बाँचेका दूर दराजका जनताको भावना विर्सेर तपाईँ भने कहिले तपाईँका सहयोगी मित्र गोकुल जस्ता ७० करोड भ्रष्टाचारी, महरा जस्ता बलात्कार,पप्पु जस्ता ठगदार, रविन्द्र जस्ता वाइड बडी काण्ड र विष्णु पोख्रेल जस्ता सरकारी ललिता निवास काण्डको नाइकेसँग सौदबाजी गर्नुहुन्छ भने कहिले गीतकार ,चटकदार, उखान टुक्के, भाइरोलजिष्ट र अर्काको खिस्सी टिउरी गर्‍यो दिन बितायो । यी सबै तपाइले गर्ने काम मात्र भ्रष्टाचारको नाइके र फगत अफवाह फैलाउने बाहेक कुनै तुक छैनन् ।

आज संसारमा केही यस्ता शासक पनि शासन गरिरहेका छन् जो आफूलाई सब थोक सम्झन्छन् । विश्व कोरोनाले आक्रान्त भइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकी चिकित्सकलाई चुनौती दिँदै औलो विरुद्धको हाइड्राक्सिक्लोरोक्विन औषधि कोरोनाका लागी सिफारिस गर्नुका साथै डब्ल्यु.एच.ओ.को आर्थिक जिम्मेवारीबाट पन्छिनु उनको देश र सारा विश्वको लागी समेत दुर्भाग्य हो । विश्वविख्यात अमेरिकी दार्शनिक तथा प्रसिद्ध लेखक नोम चमस्कीले अमेरिकामा कोरोनाका कारण अत्यधिक मृत्यु हुनुको मुख्य कारण राष्ट्रपति ट्रम्प भएको बताएका छन् ।

कोरोना महामारीकै बीचमा “मेक अमेरिका ग्रेट अगेइन “ भन्ने २०१६ कै नारा बिउँझाएर फेरि सत्ता हात पार्न खोजेका छन् । भने अर्का भारतीय बिस्तारवादी तथा तन्त्र मन्त्रका पुजारी मोदी कोरोना निर्मूल पार्ने नाममा जनतालाई कहिले घर-घरमा दियो बाल्न लगाउँछन् त कहिले घर-घरका कौसीमा गएर थालै ठटाउन लगाउँछन् । यीनको यही बेकुफ चतुर्‍याइँले आज ‘ सार्क ढाडमा हिर्काएको सर्प ‘जस्तो भ्याएको छ भने सीमा अतिक्रमणले नेपालसँग लिपुलेक,कालापानी,लिम्पियाधुरा,सुस्ता लगायत सयौँ स्थानमा विवाद र पाकिस्तान र चीनसँग युद्धकै खतरा बढाइरहेका छन्। तेस्रो शासक हुन नेपालका प्रधानमन्त्री जो अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको उधारो नयाँ नेपालको नक्सा सार्वजनिक गर्दै गर्दा विगतमा महाकाली नदी बेच्ने मध्यका एक राष्ट्रद्रोही केपी ओली । जो आफूलाई आयुर्वेद चिकित्सक ठान्दै प्रतिनिधि सभाका सदस्यलाई लसुन,अदुवा ,प्याज ढिँडो र हिमाली चिसो हावा कोरोनाको औषधि सिफारिस गरे भने राष्ट्रिय सभाका सदस्यलाई सम्बोधनका क्रममा कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो लाग्यो भने हाच्छिउँ-हाच्छिउ गर्ने, तातोपानीले निको पारी कोरोनाले लाग्दैन भन्ने सोच्ने र उच्च मनोबल राख्ने भन्दै “तातोपानी टिप्स दिए” भने जनताको लागि ‘ बेसार ‘ खाए काफी रे !

प्रधानमन्त्री ज्यू लसुन बेसार अदुवा हिमालको चिसो हावा अनि तातोपानी नै कोरोनाका औषधि हुन भने किन जनतालाई बन्दी बनाइएर लकडाउनमा राखेको ? क्वारेनटाइन नाममा जनतालाई किन सास्ती दिएर त्यही आत्महत्या गर्न बाध्य तुल्याएको ? किन चुकुल रहित विद्यालयमा दिदीबहिनी राखेर उनीहरूको सारा जीवनको अस्मिता हरण गराएको त ? एक पटक दस अर्व त पच्यो अझै फेरि अरू यस्तै अर्वाै अरब पचाउने बिचारमा पो होटेल, भैसिगोठ, टहरालाई क्वारेनटिन नाम दिइएको पो हो कि ? कोरोना उपचारकै लागी जीवनलाई बाजी राखेका स्वास्थ्यकर्मीलाई हौसला दिनुको सट्टा आफै चिकित्सक बनी कोरोना को भ्रमपूर्ण झुट फैलाउनु भनेको कोरोना महामारीमा जनताको स्वास्थ्य माथि नाङ्गो खेलबाड गरी पी.पीसीआर .आर.चेक जाँचका साथै औषधि उपचारबाट टाढा राखी संविधानमै रहेको धारा ३५ को ‘ स्वास्थ्य सम्बन्धी हक ‘ बाट वञ्चित गराइ रातदिन मृत्युसँग लडिरहेका ती महान् स्वास्थ्यकर्मी माथिकै अपमान ठहर्छ ।

प्रधानमन्त्री ओलीलाई ४ वटा मानार्थ विद्यावारिधि (डाक्टर) जसमध्ये ; पहिलो,अमेरिका स्थित ग्रीनफोर्ड विश्व विद्यालयले ओली सहित कलाकारहरू मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो । तर यो विश्वविद्यालय नक्कली रहेको थाहा भएपछि मह जोडिले उपाधि नै फिर्ता लिएको घोषणा गरेका थिए । तर माध्यमिक तह मात्रै पढेका प्रधानमन्त्री चाहिँ यसैमा मक्ख हुँदै उपाधि यथावत् नै राखेका छन् ।

दोस्रो कोरियन ताङ्नाम क्रीस्चियन युनिभर्सिटीले माध्यमिक तह ( SLC ) पास ओलीलाई मानार्थ विद्यावारिधि दिए बापत उनले नेपालमा युनिभर्सल पिस फेडेरेसन आयोजना सम्पन्न गर्न अनुमति दिए र उक्त फेडेरेसनका क्रममा अध्यक्ष ‘सन म्याङ मुनको शुक्रकीट ‘ मिसाएको ” होली वाइन ” त्यही सर्त बमोजिम खाएको पाइन्छ । तेस्रो कोस्टारिका स्थित सान जोसमा रहेको शान्ति विश्वविद्यालय र चौथो भारतको उत्तर खण्ड राज्य पन्तनगर स्थित कृषि तथा प्रविधि विश्वविद्यालय ले पनि ओलीलाई मानार्थ विद्यावारिधि (डाक्टर ) को उपाधि दिएको छ ।

तर अहिलेका गतिविधि हेर्दा प्रधानमन्त्री ओलीलाई सन म्याङ मुनको शुक्रकीट मिश्रित होली वाइनको ह्याङओभर, दुई तिहाइको दम्भ, १० अर्व भित्रको कमिसनको ह्यापिनेस, चाइनिज राजदूतले पार्टीको द्वन्द्व व्यवस्थापन, मिर्गौला चेन्ज गर्दाको मेडिसिनको साइड इफेक्ट र मात्र एस.एल.सी पासलाई चार मानार्थ विद्यावारिधि (डाक्टर) को उन्मादले त होला यस्तो कोरोनाको विश्वव्यापी महामारीको भयावह परिस्थितिमा देशको प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा आसीन व्यक्ति जनताको स्वास्थ्य प्रति उत्तरदायी बन्नुको सट्टा आफूलाई आयुर्वेद चिकित्सक ठान्दै कोरोना को औषधि “बेसार” सिफारिस गर्ने र भगवान् राम नेपालमा जन्मिएका झुटा अभिव्यक्ति दिने । प्रधानमन्त्री ज्यू कोरोना महामारीलाई सामान्य आकलन नगरौँ किनकि अमेरिका,ब्राजिल,इटाली बेलायत र फ्रान्स जस्ता देशले आज त्यसैको ठुलो परिणाम भोग्नु परिरहेको सर्वविदितै छ ।

नेपालमा सरकार बन्ने र ढल्ने कार्यले जनता दिक्दारी अवस्थामा भएकोले अहिलेको दुई तिहाइको स्थायी सरकारलाई जनमुखी र जनभावना प्रेरित कार्य गरी ऐतिहासिक बन्दै आफ्नो साख बचाउने स्वर्णिम समय प्रधानमन्त्रीका सामु भएकोले विदेशी शक्तिको चलखेलबाट माथि उठी सबै राजनीतिक दललाई एकजुट बनाइ नेपाल र नेपालीको भावना अनुरूप आफ्नै परराष्ट्र नीतिमा अडिग हुनुमै बेस हुनेछ ।कोरोना महामारी जटिल मोडमा प्रवेश गरेकोले जनता बचाउनु राज्यको प्रमुख दायित्व हो । यसका लागि युद्ध स्तरमा कार्य गर्नु पर्दछ। प्रधानमन्त्री ज्यू काम धेरै कुरा थोरै गर्नु र तपाईँको कुर्सी वरिपरि चाकरी र चाप्लुसी गर्नेहरू भन्दा दूर दराजमा कोरोना,बाढी पहिरो र सलह किराबाट विक्षिप्त भएका जनताको मनमा मलम लगाउनुका साथै उनीहरूको आवाजलाई सम्बोधन गर्नु तपाईँको सरकार र जनताको हित अनुकूल हुनेछ । अन्यथा दुई तिहाइको ओली सरकार झुटको पुलिन्दा बाहेक केही हुनै सक्दैन ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।