Logo

सम्पादकीय

के सरकार नागरिक दायित्वबाट हटेको हो त ?



मुलुकमा लक डाउन लगाउंदा पनि नहुने लाउंदा पनि नहुने । के गर्ने त सरकार ? मुलुकका नागरिकहरू आफैं पनि स्थितिको गम्भीरता मनन गर्न चुके । परिणामतः लकडाउन अन्त्यपछिका परिदृश्यहरू झनै जटिल देखिंदै छन् ।  यो असामान्य अवस्थासित सही ढंगबाट मुकाबिला गर्नु र स्थितिलाई नियन्त्रणबाहिर जान नदिनु अहिलेको ठूलो चुनौती हो । यसका लागि सरकारको सक्रियता र नागरिक सावधानी दुवैको उत्तिकै खांचो छ ।

मुलुकमा ‘लकडाउन’ अन्त्य हुनुको अर्थ, सम्पूर्ण परिस्थिति पुरानै अवस्थामा फर्कनु थिएन । कोरोनाकालीन नयां अवस्थाअनुरूपको आचारमा सबैले आफूलाई अभ्यस्त बनाउंदै जानुपर्ने थियो । तर, यही मुख्य मामिला सरकारले जन साधारणलाई बुझाउन त पर जाओस्, राम्ररी भन्न पनि सकेन वा जानेन ।

पछिल्लो समय समूह–समूहमा कोरोना संक्रमण विस्तार भएको देखिंदै छ । नागरिकसित अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने सुरक्षाकर्मी नै यसको मारमा छन् यतिखेर । काठमाण्डौंलगायत घना बस्ती भएका ठूला सहरहरूमा संक्रमितको संख्या बढ्दै छ । समुदायमै कोरोना भाइरस फैलिसकेको भय व्याप्त छ ।

लक्षणसहितका संक्रमितको संख्या मात्र होइन, मृत्युदर पनि यसबीचमा उल्लेखनीय बढेको छ । पछिल्ला ९ दिनमै १६ जनाको ज्यान गएको छ । यी सबै घटनाक्रमले दिने सन्देश लकडाउन अन्त्य गर्नु सरकारको गल्ती थियो भन्ने होइन, केवल बदलिएको अवस्थालाई कसरी काबुमा राख्ने भन्ने रणनीति सरकारसित रहेनछ भन्ने हो । अब यस्तै स्थिति सधैं रहन दिनु हुंदैन है सरकार । सरकारले नागरिकहरूलाई सतर्क नगराएको मात्र होइन, कतिपय अवस्थामा जनताले अनुकरणीय मान्ने उच्चपदस्थ व्यक्तिहरू नै यसबीचमा गैर जिम्मेवार देखिए ।

संक्रमणको स्थिति दिनानुदिन भयावह बन्दा पनि देशका प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री, मन्त्री, सांसद, सेना, प्रहरी र सरकारी निकायका उच्च पदाधिकारीले नै समूहमा छंदा समेत ‘मास्क’ नलगाएका दृश्य प्रशस्तै देखिए ।

आफूहरूको असावधानीका कारण नजिकै रहेको व्यक्तिलाई मबाट असर पर्न सक्छ भन्ने मात्र होइन, आम जनतामा त्यसको कस्तो छाप पर्ला भन्ने विचार पनि उनीहरूले पुर्‍याएनन् अगुवाहरूले नै बिराएपछि जनतालाई नियम पालना गराउन कठिन पर्छ भन्नेतर्फ उनीहरूले ध्यान दिएनन् । यसले समस्या जनस्तरमा मात्र होइन, ‘माथि’ पनि छ भन्ने देखाउंछ ।

झन्डै चार महिनासम्म लम्बिसकेको लकडाउन मुलुकले अरू थेग्न सक्दैनथ्यो, एउटा निश्चित विन्दुमा यसको अन्त्य आवश्यक थियो । तर, यसलाई ह्वात्तै टुंग्याउनुअघि नयां परिस्थितिअनुकूल चल्न नागरिकलाई आवश्यक सतर्क नगराउंदा, प्रभावकारी सन्देश प्रवाह गर्न नसक्दा र मानसिक रूपमा तयार नबनाउंदा समस्या देखिएको हो ।

सरकारले नागरिकसित उचित संवाद गर्न नसकेकै कारण बुझाइमा समस्या आएको हो, धेरैमा कोरोनाकालसमेत सकिएको भ्रम पर्न गएको हो । सक्रिय संक्रमित एक जना मात्रै भएको अवस्थामा लगाइएको लकडाउन पांच हजारभन्दा बढी सक्रिय संक्रमित हुंदा अन्त्य गरिएको थियोरु यस्तो अवस्थामा सरकारले लकडाउन किन लगाउनुपरेको थियो, किन खोल्न जांदै छौं भनेर जनतालाई स्पष्ट भन्न नसक्नु र त्यहीअनुरूप रणनीति तय नगर्नु एकखाले त्रुटि भयो ।

सर्वसाधारण हुन् वा ओहोदाधारी, भाइरसले कसैलाई चिन्दैन, हरेक व्यक्ति आफैं सचेत हुनैपर्छरु । समाज र राज्यको नेतृत्वदायी तहमा रहेका व्यक्तिहरू अझ बढी सतर्क रहनुपर्छ, किनभने उनीहरूका गतिविधिबाट सन्देश पनि प्रवाहित भइरहेको हुन्छ । मास्क नलगाई सार्वजनिक स्थलमा हिंडडुल गर्ने नागरिकलाई सरकारले सय रुपैयांका दरले जरिवाना गराइरहेका बेला सार्वजनिक समारोहमै उच्चपदस्थहरू मास्कविहीन देखिनुले गलत सन्देश दिएको छ ।

साथै, अहिले हामीकहां एक्लै हिंड्दा मास्क लगाउने, दुई जना वा समूहमा हुंदा खोलेर बातचित गर्ने प्रवृत्ति देखिन्छ, जुन समाधान होइन, घातक समस्या हो । यसरी सरकार नै नागरिक दायित्वबाट हटेको हो त ? जयराष्ट्र ।

प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार  ९ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।