Logo

अनलाइनपाना खोज

हुलाकी राजमार्ग : ११ वर्षमा ५५ प्रतिशत काम, किन भयो ढिलाई ?



राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको निर्माण कार्य सुस्त गतिमा गइरहेको छ । १४ वर्षमा सम्पन्न गरिसक्नु पर्ने उक्त आयोजना ११ वर्षसम्ममा ५५ प्रतिशत मात्र पुरा भएको छ ।

सडक विभागका अनुसार आर्थिक वर्ष २०६६/६७ बाट निर्माण कार्य शुरु गरिएको उक्त कार्य हालसम्म करिब ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने भए पनि ठेकेदार कम्पनीको लापारबाही, बजेट अभाव, ठेक्का प्रक्रियामा ढिलाई लगायत कारणले आयोजनाले गति लिन नसकेको सडक विभागको भनाइ छ ।

१ हजार ७ सय ९२.४२ किलोमिटर कुल लम्बाई रहेको उक्त आयोजना आर्थिक वर्ष २०६६/०६७ शुरु भई २०७९/०८० सम्मसम्पन्न गर्ने लक्ष्य रहेको छ । पूर्व–पश्चिम हुलाकी लोकमार्गको लम्बाई ९ सय ७५ किलोमिटर र सहायक मार्गको ८ सय १७.४२ किलोमिटर रहेको छ । जसमा पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत हालसम्म ५१२ किलोमिटर सडक कालोपत्र भएको छ भने २८८ किलोमिटर सडक ग्राभेलको काम सम्पन्न भएको छ । यस्तै, ३८६ किलोमिटर सडकको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी सडकको ठेक्का प्रक्रिया अगाडि बढाइएको सडक विभागले जनाएको छ ।

किन ढिला भयो निर्माण कार्य

हुलाकी राजमार्गको कामले चर्चा पाएको ११ वर्ष भएतापनि आयोजनाको रुपमा निर्देशनालय गठन भएको लगभग साढे ८ वर्ष भएको सडक विभागका आयोजना प्रमुख रोहित विश्वरालले बताए । सुरुमा काम गर्दा पूर्व पश्चिम मात्र भनिएको थियो भने अहिले उत्तर पश्चिम तराईका रोडहरु धेरै परेको र यसको दायरा पनि बढ्दै गएको हुनाले काममा ढिलाई भएको विश्वरालको भनाइ छ ।

”सुरुमा उक्त राजमार्गको काम भारत सरकारको लगानीमा सुरु गर्न खोजियो, काम पनि केही मात्रामा भयो तर पछि कन्सल्टेन्ट र कन्ट्र्याक्टरले छाडेर गए पछि ठेक्का तोडेर फेरि काम सुरु गर्दा केही ढिला भएको उनले बताए ।” उनले भने दुई वर्षयता देखि हामीले तीव्र गतिमा निर्माणको काम गरिरहेका छौ ०७९/८० सम्ममा कामसक्नु पर्छ भन्ने हाम्रो मान्यता हो सकेसम्म हामी सक्छौ’

आर्थिक वर्ष २०७९/८० सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो राजमार्गको अब ३ वर्षमा बाँकी काम पुरा हुन्छ भन्नु सपना जस्तै हो । हालसम्म करिब ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने भए पनि ठेकेदार कम्पनीको लापारबाही, कामदार अभाव, ठेक्का प्रक्रियामा विवाद लगायत कारणले आयोजनाले गति लिन नसकेको हो ।

हालसम्म पूर्व पश्चिम राजमार्ग निर्माणको लागि बस्ति सार्नुपर्ने भएता पनि हालसम्म कुनै बस्ति नसारी निर्माण कार्य अगाडि बढाइएको विश्वरालले बताए । उनले भने ‘हामीले अहिलेसम्म कुनै पनि बस्तिलाई असर नपर्ने गरी निर्माण कार्यलाई अगाडि बढाइरहेका छौ । यदि विस्तार गर्दा गर्दै कुनै घर वा बस्ति भत्किने अवस्थामा पुग्यो भने हामी त्यसकोे क्षतिपूर्ति दिएर मात्र निर्माण कार्य अगाडि बढाउँछौ ।

२५० मध्ये ९३ पुल निर्माण

निर्माण हुन लागेको हुलाकी राजमार्ग अन्तर्गत ९३ वटा पुल निर्माण भएको छ । उक्त राजमार्गमा २५० वटा पुल बन्नु पर्नेमा हालसम्म ९३ वटा पुल मात्र निर्माण भएको विश्वराललले जानकारी दिए । उक्त आयोजना प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

पछि संशोधित लागत रकम ६५ अर्ब २० करोड रुपैयाँ छ । उक्त सडक निर्माणका क्रममा हालसम्म ५४.२९ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएदेखि हालसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा बजेट खर्च भइसकेको आयोजना प्रमुख रोहित विश्वरालले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।