Logo

राजनीति

प्रदेशलाई पेण्डुलम बनाइयो : कांग्रेस नेता बैद्य



नेपाली कांग्रेसका ३ नम्बर प्रदेश सांसद नरोत्तम बैद्यले प्रदेशलाई ‘पेण्डुलम’ बनाएको बताएका छन् । प्रदेशसभा भएपनि भूमिका र जिम्मेवारी नभएकाले उनले गुनासो गरेका हुन् ।

‘प्रदेशको सञ्रचना बनेपनि अधिकार नदिनु दुर्भाग्य हो, यो गलगाँड जस्तै भएको छ’ उनले भने ‘ प्रदेशले स्थानीय तह र संघबीच समन्वय गर्छ तर भूमिकाविहीन बनाइयो ।’ बैद्यले संघीयतामा गइसकेपछि सबै तहलाई अधिकार दिनुपर्ने भएपनि प्रदेशलाई भने वेवास्ता गर्ने नियत राखिएको बताए । उनले प्रदेश नम्बर ३ को राजधानी काभ्रे हुने बताएका छन् ।

‘गोप्य मतदान हुने हो भने राजधानी काभ्रे हुन्छ यो ग्यारेण्टी हो’ उनले भने ‘काभ्रेमा धेरैको सहमति हुन्छ तर अहिले खुलेर कोही पनि केही भनिहाल्ने पक्षमा छैनन् ।’ अहिले प्रदेशसभा बैठक भइरहेको हेटौंडा हरेक दृष्टिकोणले टाढा र अपायक भएको उनको भनाई छ ।

मुख्यमन्त्री डोरमणी पौडेल, कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको चाहना हेटौंडा नै राख्ने भएपनि बहुमत त्यो पक्षमा नरहेको बैद्यको दावी छ ।

काठमाडौं–४ बाट निर्वाचित सांसद बैद्यले जता भएपनि छिटै टुंगियोस् भन्ने आफूहरुको एकमत रहेको बताए । ‘जता भएपनि फरक परेन तरपनि हरेक दृष्टिकोणले उपयुक्त हुने ठाउँ होस् भन्ने चाहना हो’ उनले भने ‘काठमाडौंचाहिँ सम्भव छैन किनभने यहाँ हुँदा केन्द्रको ओझेलमा पर्छ ।’ प्रदेशसभा सञ्चालन भएको १ वर्ष बितिसक्दा पनि १, २, ३ र ५ नम्बर प्रदेशले राजधानी र नामको टुंगो लगाउन सकिरहेका छैनन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।