Logo

प्रमुख समाचार

राजपाको आकस्मिक बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना



टिकापुर घटनाबारे अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको आकस्मिक बैठक बस्दै छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुनेछ ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

अदालतले बुधबार राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।संसद सकिएपछि बस्ने अध्यक्ष मण्डलको बैठकले अदालतको फैसला र पार्टीले चाल्ने कदमबारे छलफल गर्ने महासचिव केशव झाले बताए ।

रेशम चौधरीको सांसद पद गुम्ने

साढे तीन वर्ष अघि भएको टिकापुर घटनामा दोषी ठहर भएपछि रेशम चौधरीको सांसद पद गुम्ने भएको छ। जिल्ला अदालत कैलालीले बुधबार उनलाई दोषी ठहर गर्दै जन्मदकैदको फैसला सुनाएको छ ।

फौजदारी अभियोगमा दोषी प्रमाणित भएपछि सांसद पद स्वतः खारेज हुने कानूनी प्रावधान छ । २०७४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर एकबाट उनी सांसदमा विजयी भएका थिए । त्यसबेला उनी ‘फरार’ अवस्थामै थिए ।

निर्वाचनमा विजयी भएपछि लामो समय उनलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाण पत्र दिन अस्वीकार गरेको थियो ।

राजपा र सरकारबीच सहमति भएपछि पुष १९ मा उनले सांसदको प्रमाण पत्र पाएका थिए भने सभामुखको कक्षमा गएर सांसदको सपथ लिएका थिए । सपथ लिएपछि उनलाई पुनः थुनामा नै राखिएको थियो ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।