बारा र पर्सामा आएको भीषण हुरीबाट प्रभावित ६ हजार पीडितलाई राहत र पुनःस्थापनामा गम्भीर समस्या देखिएको छ । हुरीबाट घाइते भएकाहरूको उद्धार भए पनि घरबारविहीन बनेकाहरू राहत र पुनःस्थापनाको पर्खाइमा छन् ।
प्रभावितलाई पाल टाँगेर राखिएको छ भने कैयौं प्रभावितहरू अझै खुला आकाशमुनि बस्न बाध्य छन् । प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन खतरासमेत बढेको छ ।
राहतका लागि सरकारी अधिकारीहरूले राम्रो व्यवस्थापन गर्न नसकेको गुनासो पीडितको छ । बाराको फेटा गाउँपालिकालाई केन्द्र बनाएर आएको विनाशकारी हावाहुरीका कारण धेरै परिवार यहाँ विक्षिप्त छन् ।
मानविय क्षति त भई नै सक्यो । अब बाँचेकालाई राहत र पुनःस्थापनाको सवालमा साँच्चिकै राहत दिनुपर्ने चुनौती फेटामा छ । राहत लिएर आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि अन्योलमा परेका छन् । सरकारी संयन्त्रबाट गर्नुपर्ने तयारी र योजनामा कमजोरी देखिएको सहजै अनुमान लगाउन सकिने संघसंस्थाका प्रतिनिधिको भनाइ छ ।
उता पीडित क्षेत्रमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना टन्नै कार्यकर्ताको साथ दर्जनौं गाडीको लस्करसहित आए र स्थानीय तहले पैसाको तजबिज मिलाउनेगरी आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट २५ लाख दिने घोषणा गरे तर सरकारले राहत र पुनःस्थापनाको काम प्रभावकारी गर्न नसकेको टिप्पणीसमेत गरेर फर्किए । विराटनगरबाट ट्रकमा राहत बोकेर मंगलबार एकाबिहानै फेटा आएका शिवनारायण चौधरीको टोलीले १२ बज्दासम्म पीडितलाई राहतको पोको हातमा थम्याउन सकेन ।
मान्छे नै मान्छे छन् गाउँभरि । राहत दिनेहरूपनि प्रशस्तै भेटिन्छन् । तर, चौधरी राहत कसलाई कसरी दिने भन्नेमा अन्योलमा परे र हारगुहार गर्न फेटा गाउँपालिकाको कार्यालय पुगे । त्याहाँ कोही थिएनन् । हामी त्याहाँ पुग्दा कार्यालयको ढोका बन्द थियो । कर्मचारीहरूको खाना खाने बेला भएको रहेछ ।चौधरीबाहिर पर्खिरहेका थिए । राहत कसलाई दिने भन्नेमा अन्योलमा देखिएका चौधरी एक्सन एड नेपालबाट आएका रहेछन् ।
प्रभावित क्षेत्रमा प्रचण्ड गर्मी बढेको छ । स्थानीयहरूको घर त छैन नै शौचालय हुने कुरै भएन । त्यसैले प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै केन्द्र सरकारले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । तर, स्थानीय सरकारले भने घाइतेको उपचार, राहत वितरण र अस्थायी आवास निर्माणमा व्यस्त भएकाले स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन गर्न नसकिएको बताएको छ ।
हावाहुरी अति प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका भलुरी भरवलिया र वरैनियामा स्थानीयलाई सामूहिक खानाको व्यवस्था गरे पनि शौचालय र खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा महामारी फैलन सक्ने खतरा पनि उत्तिकै छ । राजधानी दैनिक





















प्रतिक्रिया