Logo

पत्रपत्रिका

ठेकेदार भेटवालसँग मिलेर चास्नी चाख्दै काठामाण्डौंका मेयर शाक्य



व्यवस्थित रहेको पुरानो बसपार्क मासेर बनाउन थालिएको भ्यु टावरमा ठेकेदारकै मस्ती हुन थालेको छ । जनप्रतिनिधि र राजनीतिक दलका नेतासँग नजिक रहेका ठेकेदारहरूलाई लाभ हुने गरी मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा निर्णय भएको छ ।

काठमाडौं महानगरपालिकाले अपेक्षाअनुसार काम नभएको काठमाडौं भ्यु टावर निर्माणमा ठेकेदार मनोज भेटवाललाई नै लाभ हुनेगरी निर्णय गरेको छ । रकमकै विषयमा विवाद चलिरहेको उक्त भ्यु टावरका ठेकेदार कम्पनीलाई महानगरले एक बर्ष समय थपिदिएको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमिनमुनिकै काम गरिरहेका छन् ।

जबकि, उक्त काम एक बर्ष अघि नै सक्नुपर्ने थियो । जमिनमुनिको ८० प्रतिशत काम सकिएको दाबी गरिएको छ । प्राइभेट–पब्लिक पार्टनरसिप (पिपिपी)मोडलबाट निर्माण सुरु गरिएको भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

जलेश्वर, स्वच्छन्द र बिकोइले २०७३ साउनबाट निर्माणको काम सुरु गरेको थियो । कहिले पेटी ठेकेदारको विवाद त कहिले ठेकेदारकै विवादका कारणले काम भने जसरी हुन सकेको छैन ।

ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । निर्माण कम्पनीले कामपालाई सुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ । उक्त कम्पनीले वार्षिक ९८ लाख रुपैयाँ कर कामपालाई बुझाउँदै आएको छ ।

गोरखा भूकम्प पूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । स्तम्भ निर्माणको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ ।

कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ ।

कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक २ करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलब ५ प्रतिशतका दरले बढ्दै जान्छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १२:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।