नेपाल राष्ट्र बैंकले अनलाइमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी त्यसको भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाउने भएको छ।
कसरी यस्तो सटही सुविधा दिने भनेर प्रारम्भिक मस्यौदा तयार पारेर राष्ट्र बैंकले सरोकारवालासँग सुझाब माग गरेको छ। सेवा आयात वापतको विदेशी मुद्राको भुक्तानी गर्न अधिकतम ५०० अमेरिकी डलर वा त्यो बराबरको अन्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रस्ताव राष्ट्र बैंकले गरको छ।
यस्तो प्रिपेड कार्ड लिने ब्यक्ति, संस्था वा कम्पनीले बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गरिने छ। यसका लागि सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु पर्ने हुन्छ।
कार्डमा विदेशी मुद्रा जम्मा गर्दा त्यो रकममा विदेशबाट सेवा खरीद गर्दा नियमअनुसार लाग्ने कर अग्रीम रुपमा बाणिज्य बैंकहरुले कट्टा गर्नु पर्ने हुन्छ। एक बर्षमा बढिमा ५ सय डलर मात्र यस्तो सुविधा पाइने छ।
प्रतिबन्धित सेवा भने लिन पाइँदैन। कसैले ५ सय डलर साटेर त्यसको दोब्बर आम्दानी गरेको प्रमाण पेस गरेमा प्रिपेड कारंडमा थप रकम जम्मा गर्ने सुविधा पाउने छ। प्रिपेड कार्ड लिने ग्राहकले अर्को बैंकबाट मैले यस्तो सेवा लिएको छैन भनेर स्वघोषणा गर्नु पर्ने हुन्छ।
एकभन्दा बढि बैंकबाट यस्तो कार्ड जारी गरेको पाइएमा मुद्रा अपचलनको मुद्दा लाग्ने छ।
प्रतिक्रिया