Logo

खेलकुद

इण्डियन प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा चेन्नई सुपर किंग्स !



चेन्नई सुपर किंग्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १६ ओभर २ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । यस्तै रबिन्द्र जडेजाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोड्दा फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए ।दिल्लीका जगदीश सुचिथले २ विकेट लिए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन ।

जितसंगै चेन्नईले १३ खेलबाट १८ अंक जोडेको छ ।र, दिल्लीलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा फर्किएको छ । यो जितपछि चेन्नईको क्वालिफायर पुग्ने सम्भावना बलियो बनेको छ ।

पराजित दिल्ली १३ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली प्ले अफमा यसअघि नै पुगिसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार ०२:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।