काठमाडौं । विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस वर्ष दसैँमा खसी-च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रकाअनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन । बजेट नै नभएपछि खसीबोका खरिद प्रक्रिया अघि नबढाइएको उनले जानकारी दिए ।
गत वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो। तर, पहिरोका कारण राजमार्ग अवरुद्ध भई खसी-च्याङ्ग्रा ल्याउन नसकेपछि बुकिङ नै रद्द गर्नुपरेको थियो ।
यसपालीको चाडपर्व लक्षित गरेर खाद्यले सुपथ मूल्यको पसल मात्रै सञ्चालनमा ल्याएको छ ।
कम्पनीले भदौ २८ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
सूचना अधिकारी मिश्रकाअनुसार सुपथ मूल्य पसलबाट कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमीलगायत खाद्यवस्तु बिक्री गर्दै आएको छ ।
सुपथ मूल्य पसलमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

















प्रतिक्रिया