नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्य खालको भएको बताएका छन् ।संविधानको मर्म माथि सरकारले प्रहार गरेको उनको भनाई छ ।
नेपाल प्रेस यूनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटिलाई प्रतिपक्षले सच्याउँदा समेत बेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाउनुभयो ।
अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले ”लथालिङ्ग देशको भाताभुङ्ग चाला,” जसजसले सक्छ, उसैले खाला” भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको दाबी गर्नुभयो । कांग्रेसले थालेको जागरण अभियानका क्रममा प्रदेशको धनुषा हिंडेका पौडेलले सबै किसिमका अराजकता र गलत प्रवृत्तिको चिरफार गर्ने उल्लेख गर्नुभयो ।
अभियानले आफैं भित्र भएको धूलोलाई समेत बढार्ने उहाँको भनाई थियो । भर्खरै एकीकरण भएको समाजवादी पार्टी नेपाल तर्फ इंगित गर्दै नेता पौडेलले ११ प्रदेशको कुरा ल्याएर जनतालाई भ्रममा पारेको उल्लेख गर्नुभयो । संविधानले टुंग्याएको कुरालाई फेरि बखेडा झिकेर देशलाई अन्योलमा धकेल्ने काम भएको पौडेलको भनाई थियो ।
रामशरण महत
जागरण अभियानकै क्रममा सिरहा खटिएका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारको काम सपना बेच्ने र कुरा गर्ने मात्र भएको बताएका छन् । अझै संविधानको पूर्ण कार्यान्वयन नभइसकेकाले सक्रमणकालिन अवस्था रहेको महतले बताए । राष्ट्रपति, प्रधानमन्त्री र नेताका नाममा सडक तथा विभिन्न कार्यक्रम ल्याई सरकारले बद्नाम गर्ने काम गरेको महतको आरोप थियो । कांग्रेस सरकारमा हुँदा गरिएको कामलाई आफू र आफ्ना नेताको नाम दिई वर्तमान सरकारले एकलौटी करण गरेको महतको भनाई छ ।

















प्रतिक्रिया