गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारमा जग्गा किन्ने र भवन बनाउने काममा सरकारको पूर्ण समर्थन रहेको जनाएको छ । सरकारले सबै प्रकृया पुरा गरेर किनबेच गरिएको एनआरएनले दावी गरेको छ । यदि यो जग्गामा गलत ठहर भएमा सरकारले नै क्षतिपूर्ती समेत बेहोर्नुपर्ने एनआरएनको दावी छ ।
आइतबार भएको पत्रकार सम्मेलनमा एनआरएनका अध्यक्ष भवन भट्टले ‘यदि सरकारले यो गलत ढंगबाट गयो भन्छ भने, त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने धारण राखेका थिए । उनले सरकारको कमजोरी यहाँ छैन भने जग्गा बेच्न व्यक्तिबाट क्षतिपूर्ति दिनुप¥यो नत्र भने सरकारले नै व्यहोर्नपर्ने बताएका हुन् ।
‘क्याबिनेटबाट डिसिजन गराएरै लिएको चिज हो, फेरि आवश्यक र्पयो भने क्याबिनेटसम्म जान्छौं,’ उनले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो नि त । कि सरकारले उसलाई कारबाही गरेर उसबाट हामीलाई क्षतिपूर्ति दिनुर्पयो । होइन, यो सरकारले लिन्छ, हामी नै यसको क्षतिपूर्ति तपाईंहरुलाई दिन्छौं भनेर दिनुर्पयो । एउटा डिसिजन त सरकारले लिनुपर्ने हुन्छ ।’
यद्यपि अध्यक्ष भट्टले यसलाई ठूलो इस्यू नबनाइकन समाधानको दिशातर्फ अगाडि बढ्नुपर्ने समेत बताए । यदि कुनै संयन्त्रमा गलत भएको भए सरकारले सुधार्नुपर्ने पनि उनले जोड दिए । बालुवाटार जस्तो ठाउँमा सुलभ मूल्यमा जग्गा पाएपछि सबैतिर बुझेर र प्रक्रिया पूरा गरेर जग्गा किनेको भट्टको भनाइ छ । ‘नेपालका अत्यन्त वरिष्ठ अधिवक्ताबाट क्लियरिफिकेसन पाइसकेपछि,मुद्दा मामिला पनि छैन, झगडा पनि छैन, लालपूर्जा पनि आउँछ भन्ने एस्योर भएपछि हामी सबैले कमिटीबाट निर्णय गरेका हौं,’ उनले भने ।
जिल्ला अदालतबाट समेत क्लियरिफिकेसन लिएको उनले बताए । उनले भने, ‘बीचमा कुनै साथीले अनैतिक काम गर्दै हुनुहुन्छ भनेर दाबी गर्नुभयो । त्यसपछि जिल्ला अदालतमा पनि गयौं । त्यहाँबाट पनि हामीले सफाई पाएर बिल्डिङ बनाएका हौं ।’
कानुनमन्त्रीको आश्वासन
सोही कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकालले एनआरएनको सम्पत्ती सुरक्षाको ग्यारेन्टी गर्ने आश्वासन दिएका थिए । त्यसैले एनआरएनका पदाधिकारी पनि सरकारबाट अन्यथा निर्णय नहुनेमा विश्वस्त छन् ।
‘हिजो मन्त्रीज्यूले एनआरएनको व्यक्तिगत सम्पत्तीलाई समेत हामीले पूर्णरुपमा सुरक्षा दिन्छौं भन्नु भएको छ,’ अध्यक्ष भट्टले भने, ‘यो कसैको निजी सम्पत्ति होइन, यो सामाजिक सम्पत्ति हो । जुन संस्था राष्ट्रको समृद्धिको लागि भनेर दिनरात हिँडिरहेको छ । सरकारले त्यसलाई अर्को कुनै तरिकाले लान्छ भन्ने चाहिँ मलाई विश्वास लाग्दैन उनको भनाई थियो ।’
अहिलेको सरकार एनआरएनएप्रति सकारात्मक रहेको बताए । उनले आफूहरु सरकारको समृद्धिको यात्रामा सहयात्री बन्न चाहेको भट्टले बताए ।
एनआरएनएका पूर्वअध्यक्ष : शेष घले
एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले पनि पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए । बालुवाटारको जग्गा खरिद र भवन निर्माणको प्रक्रियासम्म सक्रिय रहेका घलेले सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा किनेको बताए ।















प्रतिक्रिया