भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्रीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।
ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए ।
‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीनदिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए ।
वेन्काइ नाइडु
कार्यक्रममा प्रमुख वक्ता भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागु गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताए । उनले मानवता तथा भाइचारामा गहन समर्पण नगरेसम्म शान्ति प्राप्त गर्न नसकिने पनि स्पष्ट गरे ।
प्रा. डा. फ्रा ब्रमापण्डित
आइसिडिभीका संस्थापक अध्यक्ष तथा आइएबीयुका अध्यक्ष प्रा. डा. फ्रा ब्रमापण्डितले अन्तर्रा्ष्ट्रियस्तरमा समाजमा शान्ति र समन्वयको सन्देश दिने सो कार्यक्रमको महत्वमा प्रकाश पारे । म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षा तथा दैनिक जीवनका यसको उपयोगका विषयमा चर्चा गरे ।
एन्टोनियो गुटेरेस
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सो कार्यक्रमको सफलताको सन्देश पठाउँदै विश्वमा शान्ति र दिगो समाजका लागि शुभकामना व्यक्त गरेको पत्र पढेर सुनाइएको थियो । भियतनामले वैशाख दिवस बनाएको यो तेस्रो पटक हो । यसअघि सो मुलुकले सन् २००८ र २०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो । विश्वका ११२ मुलुकबाट करीब १० हजार प्रतिनिधिले सो कार्यक्रममा भाग लिइरहेका छन् ।















प्रतिक्रिया