Logo

प्रमुख समाचार

बिना मगरको मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निगरानी



खानेपानी तथा ढल सरसफाई मन्त्री बिना मगरको मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निगरानी बढेको छ ।मन्त्रीहरूको कामको मुल्यांकन गर्ने नीति ल्याएका ओलीले निगरानीमा राखेको मध्येको पहिलो मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन नै रहेको बताइएको छ ।

उच्च स्रोतका अनुसार मेलम्ची खानेपानी आयोजनालाई समयमा ल्याउने काममा मन्त्री मगर असफल भएको ठहर गर्दै निगरानी बढाइएको हो । मेलम्ची आयोजनालाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा सोझै प्रधानमन्त्री कार्यालयबाट निर्देशन जाने छ ।

तत्कालिन सचिव गजेन्द्र ठाकुरका लहैलहैमा राखेर मन्त्री मगरले गलत सूचना दिँदै आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीलाई गुमराहमा राखेका कारण उक्त आयोजनामा प्रधानमन्त्री कार्यालयले हस्तक्षेपको नीति लिएको हो ।

यस्तो हस्तक्षेपका लागि नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डको भागमा रहेको मन्त्रालय भएकाले स्वीकृति लिइसकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले जनायो ।

त्यसो त मेलम्ची आयोजना समयमा आउन नसक्नुको कमजोरीका विषयमा प्रधानमन्त्री ओली र आफैंले पनि हस्तक्षेप नगरी नहुने अवस्था आएको नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । तर, उनले मन्त्री मगरसहित सरकारले काम गर्दा गर्दै पनि किन मेलम्ची आएन भन्ने विषयमा अदृश्य शक्तिको खेल रहेको बताए । अदृश्य शक्तिबारे उनले केही खुलाएका छैनन् ।

‘मेलम्ची नआउनुको कारणबारे खोजी भएको, मिडियाले पनि प्राथमिकताका साथ प्रकाशन गरिरहेको र सोही मन्त्रालयमा एक बर्षमा तीनवटा सचिव फेरिनुको कारणबारे प्रधानमन्त्री कार्यालयले विश्लेषण गरेको छ’, स्रोतले भन्यो,‘किन त्यसो भयो भन्नेबारेमा सम्बन्धित मन्त्रालयकी मन्त्री मगरलाई पनि सोधिएको छ ।’

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।