नेपाली कांग्रेसको सुरु गरेको जागरण अभियान नौटंकीमात्र भएको छ । कांग्रेसले बैशाख २५ गतेबाट पहिलो चरणको अभियान चलाएको छ । यो जेष्ठ २५ गते सकिँदैछ । तर आफूभित्रको किचलोको अन्त्य नगरी कांग्रेसले चलाएको अभियान अर्थ न बर्थको भएको छ ।
अहिले नेपाल विद्यार्थी संघ (नेविसंघ) र अर्को संस्था नेपाल तरुण दल अलमलमा छ । यतिसम्म कि नेविसंघ भंग छ । तरुण दल पार्टीका ४ जनाको नेताको भागवण्डामा चलेको छ । तरुण दलमा सभापति शेरबहादुर देउवा, अर्का नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहको कब्जामा छ ।
उनीहरुले १-१ जना डफादार राखेका छन् । पोखरामा अधिवेशन गर्ने भनेर सबै प्रतिनिधि भेला भएपनि अन्तिममा आएर टिकेप्रथा दोहोरिएको छ । ४ जनाले मात्र तरुण दल हाँक्न सक्ने सम्भावना छैन । कांग्रेसका अरु भ्रातृ तथा शुभेच्छुक संस्थाको पनि हालत उही छ । वर्षौंदेखि अधिवेशन हुन नसकेर ती संस्थाहरु लथालिङ्ग छन् ।
कांग्रेसले चलाएको जागरण अभियानको पहिलो दिन नै सिन्धुपाल्चोकमा बक्सिङ हानाहान भएको छ । अभियानले पार्टीभित्र सुधार ल्याउने र सरकारको गलत कामको विरुद्धमा बोल्ने भनेको छ तर त्यस्तो सम्भावना देखिएको छैन ।
आफूलाई सुधार्नुको साटो अरुलाई गाली गर्दैमा हुनेवाला केही छैन । भाषणमा मिल्यौं भन्दैमा कांग्रेसले आचरण नसुधारुन्जेलसम्म वर्षौसम्म जागरण अभियान चलाएपनि त्यसको सार्थकता रहँदैन ।















प्रतिक्रिया