Logo

समाचार

तोडफोडको घटनाप्रति पत्रकार महासंघको आपत्ति



नेपाल पत्रकार महासंघले एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड गर्ने र पत्रकारलाई ज्यान मार्ने धम्कि दिनेविरुद्ध कारबाही गर्न माग गरेको छ।

मंगलबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति प्रकासित गरी ‘समाचारको विषयलाई लिएर वैशाख ३० गते एभिन्यूज टेलिभिजनका पत्रकारलाई दिइएको ज्यान मार्ने धम्की तथा एभिन्यूजनको वीरगञ्ज कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको’ जनाएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर पत्रकार पाण्डेलाई विष्णुजंग बस्नेत नामका व्यक्तिले ९८५१००५१८० नम्बरको मोबाइलबाट फोन गरी ज्यान मार्ने धम्की दिएका थिए भने सोही विषयलाई लिएर समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा आक्रमण र तोडफोड गरेका थिए ।’

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सञ्चारगृह तोडफोड गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य भएको महासंघले जनाएको छ। घटनाको भत्सर्ना गर्दै महासंघले दुवै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकार र सञ्चार गृहको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गरेको छ।

साथै, महासंघ सञ्चारकर्मीहरुलाई पनि समाचार सामग्री संप्रेषण गर्दा आचारसंहिताको पालना गर्न र मर्यादित रहन पनि आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।