ढोकाको दायाँपट्टिको भित्तामा लेखिएको थियो श्री भक्त श्रेष्ठ (सरुभक्त) र त्यसको तल्लोपट्टि केहि सानो अक्षरमा थियो कुलपति । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एकतल्लामाथी कुलपतिको कार्यकक्ष बाहिर बोर्डमा टोलाईरहेको थियो मेरो मन ।
साहित्यकार सरुभक्तसँग नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको रुपमा भन्दापनि साहित्यकारकै रुपमा गफिने मैले सोच बनाईसकेको थिएँ । कुलपति सरुभक्तले भित्रबाट मलाई प्रवेशको लागि संकेत गरिसकेका थिएनन् । नजिकै रहेकी एक किशोरी कर्मचारी पहिलेपनि कतै देखेझैँ लागिरहेको थियो । मैले भने,‘तपाईको घर ओखलढुंगा हो ?’‘होइन, कोहलपुर हो । किन र ?’ उनले भनिन् ।‘पहिले पनि कतै देखेजस्तो लाग्यो ।’
मैले बोल्दैगर्दा तुरुन्तै उनी बोलिहालिन्,‘सबैले यसै भन्छन् । मेरो त्यस्तो कमन फेस छ र ?’ नजिकैकी अर्की दिदी पनि मेरो कुराकानीमा सार मिलाईरहेकी थिइन् । गफगाफ भईरहँदा उनै किशोरी कर्मचारी (उनको नाम प्रतिमा रहेछ) बसिरहेको कार्यकक्षमा कतै घण्टी बज्यो । कुलपतिले भित्रबाट हामीलाई बोलाएको संकेत पाएपछि फोटो पत्रकार साथी कृष्ण र म अर्को कृष्ण दुबैजना भित्र पस्यौँ ।
कुलपतिको कार्यकक्ष हेर्दा लाग्थ्यो–सिंहदरबारभित्र कुनै सचिवको कार्यकक्षमा हामी पसेका छौँ । तर, बुझ्ने भएदेखि मैले पढ्दै र सुन्दै आएका साहित्यकार सरुभक्त अगाडी थिए । ‘पागल बस्ती’,‘तरुनी खेती’,‘समय त्रासदी’ लगायतका चर्चित उपन्याससँगै कविता,नाटक गरी करिब चार दर्जन कृतिका सर्जक अघि मसामु प्रश्न थोरै थिए तर जवाफ भने लामो र रोचक आउला भन्ने अपेक्षा थियो ।

केहि मिनेटको अनौपचारिक कुराकानीको अन्त्यमा साहित्यकार सरुभक्तले भने,‘हुन्छ अब कुरा गरौँ । मेरो व्यक्तिगत जीवनबारे नसोधिदिए हुन्थ्यो ।’ अविवाहित तथा भक्तराजबाट सरुभक्त भएका ६४ बर्षीय बरिष्ठ साहित्यकार सरुभक्तको अघि उनको प्रेम, अविवाहित रहनुको कारण तथा भक्तराज हुदै सरुभक्त भएका परिवेशका अन्तरकुन्तर खोतल्ने मेरो प्रयासमा उनको यो अभिव्यक्तिले पूर्णविराम लागिसकेको थियो ।
उनको अघि पुगिसकेपछि कुरा त गर्नैपर्ने थियो, त्यसपछि उनको जीवन र साहित्यिक यात्राबारे विगतदेखि उनले धेरैलाई जवाफ दिदै आएका प्रश्नहरु नै मबाट पनि उछिट्टिन थाले ।
३ बर्षअघि बुबाको निधन भएपछि काटेको उनको लामो कपाल अहिलेपनि ढाकाटोपी भित्रै सिमित भईरहेको छ । बुबाको निधनपछि केहि समयमा नै नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति भएका साहित्यकार सरुभक्तको छोटिएको कपाल देख्दा बर्षौँदेखि उनलाई पढ्दै आएका मजस्ता अन्य पाठकलाई पनि अनौठो लाग्दो हो । किनभने बर्षौँदेखि उनले लामो कपाल पालेको मात्र आम पाठकहरुले देख्दै आएका हुन् । एकअर्थमा भन्ने हो भने सरुभक्त र लामो कपाल एकअर्काका पर्यायजस्तै लाग्छ धेरैलाई ।
‘आजभोलि कत्तिको लेख्दै हुनुहुन्छ?’ मेरो जिज्ञासाले प्रश्नबाचक चिन्हको दाबी गर्नैलाग्दा उनी मुस्कुराए र भने,‘प्रज्ञा प्रतिष्ठानकै काममा व्यस्त भईरहेको छु । लेख्न वा हिड्न कुलपति भइसकेपछि पहिलेको जस्तो स्वतन्त्रता त हुदैन । तैपनि ०७४ सालभित्र नयाँ उपन्यास पाठकसमक्ष ल्याउने प्रयासमा छु ।’ आफ्नै कार्यकक्षको टेबुलमाथीको एउटा डठपेन खेलाउदै सरुभक्तले झ्यालबाट बाहिर असारेझरीको अपेक्षामा तातिरहेको दिनलाई हेर्दै साहित्य र आफ्नो लेखनबारे बताउदैगए ।
०१२ सालमा पोखराको बागबजार टोलमा जन्मिएका त्यसबेलाका भक्तराज अर्थात अहिलेका प्रसिद्ध साहित्यकार सरुभक्तले किशोरावस्था प्रवेशपछि मात्रै नेपाली भाषामा चासो बढाएका रहेछन् । त्यसअघिसम्म उनी नेवारी भाषामा मात्रै दख्खल राख्थे । तर एकपटक विद्यालयमा नेपाली विषयमा लिइएको १० पूर्णांकको आन्तरिक परिक्षामा उनले ८ अंक पाए । सोहि बेलादेखि नेपाली भाषाप्रति पनि विशेष रुची बढ्न थालेको बताउछन् साहित्यकार सरुभक्त ।
बाल्यकालमा साहित्यप्रतिको रुचीको प्रारम्भबारे सम्झिदै सरुभक्त भन्छन्,‘माघको जाडोमा टोलका एकजना दाईले हरेकदिन श्रीस्वस्थानीको कथा पढ्नुहुन्थ्यो । त्यहिभित्रका महादेव,सतिदेवी पार्वती जस्ता भगवान तथा विभिन्न राक्षस पात्रहरुसँग बगेको कथाले मेरो मन समाइरह्यो ’।
त्यसबेला पोखराको ग्रामीण परिवेश, उकाली ओराली, खोला–खोल्सा र विशेषत प्रकृतिसँगको सामिप्यतामा हुर्किएका साहित्यकार सरुभक्तले अहिलेसम्म कविता, नाटक, उपन्यास, कथा तथा मुक्तक विधाका करिब चार दर्जन पुस्तक नेपाली साहित्य भण्डारमा थपिसकेका छन् ।

संख्यात्मक रुपमा जस्तै उनका कृतिले गुणात्मक अनुहार पनि आम पाठकको बिचमा देखाईरहेका छन् । उदाहरणको रुपमा ०४८ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उनको उपन्यास ‘पागल बस्ती’ लगायतलाई लिन सकिन्छ । प्रतिष्ठानको कुलपति भएपछि भने बाक्लै रुपमा काठमाडौं बस्दै आएका सरुभक्त भन्छन्,‘मैले बर्षौदेखि पोखरामा बसेर नै साहित्य सिर्जना गरेँ । कुलपतिको कार्यावधी सकिएपछि फेरि म पोखरा फर्किन्छु । हुन त अहिलेपनि पोखरा र काठमाडौं आउने जाने भइरहेको छ । तरपनि कुलपतिको पदावधी सकिएपछि म पोखरामै हुन्छु ।’
नभन्दै फुर्सदमा साहित्यकार सरुभक्तको मन शहरको भिडबाट प्राकृतिक छटा छहरातिर भागीहाल्दो रहेछ । कास्कीका पहाड तथा मुस्ताङतिर डोहोरिने बाटो,स–साना झुपडी र बनजंगलतिर हिड्दाहिड्दै उनका कतिपय सिर्जना जन्मिए । सरुभक्त भन्छन्,‘ हाम्रो युवा नाटक परिवार भन्ने समुह थियो । त्यहि समुहका भाई स्वर्गीय शंकरराज श्रेष्ठसँग ०३८ सालमा म घान्द्रुक घुमेर फर्किदा पोखरा नजिककै नौडाँडामा बास बस्यौँ । त्यहिको परिवेशमा मैले पागल बस्ती उपन्यास लेख्ने सोच बनाएँ ।’
अपरान्ह ३ बजे हामी उहासँग कुरा गरिरहँदा बिच बिचमा उनलाई भेट्न पालो कुरिरहेकाहरुबारेको ‘चिट’ अगाडी आईपुग्थयो । आँखाको इसाराले केहिबेर पर्खनु भन्नु भन्दै साहित्यकार सरुभक्त हामीसँगको कुराकानी छोट्याउनेतर्फ अघि बढे । कार्यकक्षका भित्ताभरी कतै उनी कुलपति हुँदा सपथ ग्रहण गर्दाको फोटो त कतै प्रतिष्ठानले गरेका विभिन्न कार्यक्रम सम्झाईदिने फोटोहरु झुण्डिरहेका थिए । दौरा,सुरुवाल,कोट र ढाकाटोपीमा हाम्रो अघिल्तिर गफिरहेका सरुभक्तको कुरा काट्दै मैले प्रसंग मोड्न खोजेँ ।
‘कत्तिको ऐना हेर्नुहुन्छ ?’
‘युवाअवस्थामा म ऐना हेर्न रुचाउदिन थिएँ । ऐनासँग मेरो विद्रोहको भावना थियो । मेरो कुरुप अनुहार ऐनामा किन हेरौँ भन्ने आफ्नै प्रतिविम्वसँग बिद्रोहको भावना थियो । आजभोलि त्यो विद्रोहको भावना उमेरका कारण मत्थर हुदैगयो ।’ मेरो प्रश्नमा उनको जवाफ यतिमात्र थिएन । ‘जीवनका धेरै सत्यहरु उमेरका कारण स्वत उद्घाटित हुदै जान्छन् ।
आजभोलि ऐना हेर्दा दाह्रीजुंगा फुलेको,केश फुलेको देख्दा म मै हुँ कि होइन भन्ने जिज्ञासा आउछ । आफैलाई एउटा परिहासको स्थितीमा पाउछु । पागलबस्ती लगायतका मेरा कृति पढिरहेका पाठकहरुले मलाई अझै तन्नेरी होला भन्ने सोचिरहनुभएको पाउछु ।’
अविवाहित साहित्यकार सरुभक्तलाई के जीवनको यो खुड्किलामा आइरहँदा घरगृहस्थी नबसालेकोतर्फ पछुतो होला त ? धेरैको मनमा खेल्ने प्रश्न हो यो । यो प्रश्नमाथी उनको जवाफअनुसार उनले जस्तो जीवन बाच्न चाहेका थिए त्यस्तै जीवन बाचिरहेका छन् । जून सिद्धान्त र भावनामा बाच्न चाहेका थिए सोहिअनुसार उनको जीवन यहाँसम्म आइपुगेको छ । भन्छन्,‘जीवनको अहम निर्णय लिनेबेला मैले गल्ती गरेजस्तो लाग्दैन । मैले नरोजेका सुखहरुभन्दा मैले रोजेको दुःख प्रीय लाग्छ ।’
जीन्दगी जिउनेक्रममा आफैले लिएको निर्णयप्रति उनैले बोलेका यी अभिव्यक्ति सुनिरहँदा ‘आँधी,भीर र सपनाहरु’ शीर्षकको उनको कविताको एक अंश याद आयो..
एकदिन
मनका पहाडहरुले साउती मारेर
जिन्दगीका गीतहरु खोजिरहेको बेला
म कुन आँधीले हुत्तिएर
आँधीहरुको देशमा पाइपुगेको छु
भीरहरुको देशमा आइपुगेको छु
थाहा छैन
कुन क्षितिजबाट चेपिएर
आँधीहरु जन्मन्छन् यहाँ….
सायद्,जीन्दगीको गीत खोज्नेक्रममा मनका पहाडहरुले साउती मार्दैगर्दा मानिस हुत्तिएर जहाँपनि पुग्न सक्छ । जता पुगेपनि आफ्नै निर्णयको परिणती हुनेछ, जतिबेला नपाएका सुखभन्दा पाएकै दुःख प्रीय लाग्छ नै,साहित्यकार सरुभक्तको जीन्दगी जिउन लिएको आफ्नै निर्णयप्रतिको आशय यस्तो छ ।
साहित्य र जीवनबारेका यी यस्तै कुराकानी लगत्तै हामी उठ्दैगर्दा साहित्यकार सरुभक्तले बाहिर रहेकी प्रतिमाको कार्यकक्षमा घण्टी बजाईहाले । भेट्न आईपुगेको अर्को टोली र बिदा हुदै गरेका हामीलाई कुलपतिको कार्यकक्षबाट एकै मुस्कानमा साहित्यकार सरुभक्तले स्वागत र विदाई गरे ।





















प्रतिक्रिया