Logo

अर्थ

सहकारी व्यवस्थापन गोष्ठी शुरु, बजेट सहकारीमैत्री भएको सहकारी मन्त्रीको जिकिर



सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आजदेखि काठमाडौंमा शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा काठमाडौंमा दुई दिवसीय सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७६ शुरु भएको हो ।

गोष्ठी उद्घाटन सत्रलाई संवोधन गर्दै भूमि,व्यवस्था,सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले बचत तथा ऋण सहकारी व्यवस्थापनका लागि सहकारी ऐन, सहकारी नियमावली र आर्थिक बर्ष २०७६/०७७ को बजेट सहकारीमैत्री रहेको बताउँदै सरकार सहकारी क्षेत्रसँग सँगसँगै साझेदारी गरेर अगाडि बढ्ने दौरानमा व्यवहारमै रुपान्तरित भईसकेको बताएकी छिन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवस्थापनका लागि छिट्टै बचत ऋण सहकारी ऐन ल्याउने विषयमा मन्त्रालयले छलफल चलाईरहेको बताएकी छिन् । उनले सहकारी मन्त्रालय र विभागको साझेदारीमा नेफ्स्कूनले बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गरिरहेको र अब नेफ्स्कूनसँग जोडिएका बचत तथा ऋण सहकारी संस्थाहरु स्वयं बढी जिम्मेवार रहनुपर्ने बताइन । सहकारी मन्त्रालयले सहकारी एकीकरणको विषयलाई व्यवहारिक रुपमै लागु गर्न निर्देश गरिसकेको भन्दै मन्त्री अर्यालले बचत ऋण सहकारीको संख्यालाई सानो, गुणस्तरीय र सुरक्षित बनाउन निर्देश गरेकी छिन् ।

गोष्ठीको उद्घाटन सत्र समापनको अवसरमा बोल्दै नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले मन्त्रालयले सहकारी संस्थाहरुलाई दिंदै आएको सहकारी अनुदानमा बचत तथा ऋण सहकारी संस्थाहरुलाई भेदभाव गर्न नहुनबताएका छन् । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालद्वारा बचत तथा ऋण सहकारीका सिद्धान्तहरु शीर्षकमा लिखित पुस्तकको विमोचन गरिएको थियो । उद्घाटन सत्र सञ्चालन नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकालले गरेका थिए ।

गोष्ठीको पहिलो दिन आज साकोस ब्राण्डिङ अवसर र चुनौती, साकोस जोखिम व्यवस्थापन, व्यावसायिक जनसम्पर्क र व्यवसायिक सहकारीका लागि सफलतम योजना विषयक छुट्टा छुट्टै चार विषयबस्तुमा कार्यपत्र प्रस्तुत रहेको छ ।
शुक्रबार हुने कार्यक्रममा ५ वटा फरक विषयबस्तुहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् भने गोष्ठीको सारसंक्षेप प्रस्तुतीकरण, सुझाव संकलन सहित साझा घोषणापत्र जारी गरी गोष्ठीको समापन गरिने कार्यक्रम रहेको छ ।

नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष मीनराज कंडेल, अतिथिहरुमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी.उप्रेती, सहकारी सचिव गोपीनाथ मैनाली, एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो, अमेरिकन हेरिटेज क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत ब्रुस लगायत सहकारी क्षेत्रका विज्ञ व्यक्तिहरु, नेफ्स्कूनका सञ्चालक सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका कर्मचारीहरु र देशभरका बचत तथा ऋण सहकारी संस्थाका ५२५ जना व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।