पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाईसीस वींग्स (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेट नभएको जनाएको छ ।पूर्वराजा शाहका सहयोगी फणीराज पाठकले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर ‘रअ’का कुनै पनि व्यक्ति वा प्रतिनिधिसँग भेट नभएको जनाएका छन् ।
पाठकले ‘रअ’का प्रमुखले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भेटघाट गरेको भनी केही अनलाईन मिडियाबाट समाचार प्रकाशन गरिएको प्रति आपत्ति जनाएका हुन् ।पूर्वराजा शाहका निजी सहयोगी पाठकले ‘रअ’सँग जोडिएर आएका समाचार कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने प्रकृतिको रहेको जनाएका छन् ।
‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकामा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’, पूर्वराजाका सहयोग पाठकले विज्ञप्तिमा भनेका छन् ।
‘यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु’, उनले भनेका छन् ।
पूर्वराजा शाहसँग ‘रअ’का प्रमुख गोयलले गोप्य भेट गरेको भन्दै केही अनलाइनहरूले समाचार प्रकाशित गरेपछि निर्मल निवासले ती समाचारको खण्डन गर्दै समाचारमा सत्यता नरहेको जनाएको हो ।
सत्तारुढ नेकपा निकटका केही अनलाइनहरू पूर्वराजा शाह र ‘रअ’का प्रमुख गोयलबीच भेटवार्ता भएको भन्दै चरित्र हत्या हुने गरेर समाचार सम्प्रेषण गरेका थिए ।बरु भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई गोप्य रुपमा भेटेका थिए ।
बालुवाटारले ओली र गोयलबीच भएको भेटवार्तालाई लुकाएको छ । दाहालले गोयलसँग भएको भेटवार्तालाई अस्वीकार गरेका छैनन् ।केही अनलाइनहरूले ‘रअ’का प्रमुख गोयलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेको भनेर समाचार लेखेका छन् । देउवाले ‘रअ’का प्रमुखलाई भेट नगरेको उनको निजी सचिवालयले जनाएको छ ।
देउवाको निजी सचिवालयका एकजना सहयोगले भने, ‘भेट् भएको छैन । भेट हुँदा लुकाउने कुरा हुँदैन । कसले के लेखे हामीलाई थाहा भएन । भेट नभएको कुरालाई खण्डन गर्नु आवश्यक ठानेनौँ ।’
‘दुइटा बाँदरले स्वमीको नाकै काटिदिए’ नामक कथाले बालुवाटारमा खैलाबैला
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वसांसद विजय पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयप्रति कठोर टिप्पणी गरेका छन् ।नेता पौडेलले नेकपाका अध्यक्ष ओलीप्रति लक्षित गर्दै शुक्रबार लेखिएको लोककथा सामाजिक सञ्जालमा भाइरल बनेको छ । लोककथा आफ्नै पार्टी नेतृत्वप्रति रहेको कमेन्टमा लेखिएका छन् ।
ओलीको सचिवालयमा बसेका सल्लाहकार र सहयोगीका कारण पार्टीलाई नोक्सानी पुगेको उनको भनाइ छ । नेता पौडेलले ओलीको नाम लोककथामा कतै लिएका छैनन् ।
तर, नेकपाका वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सचिवालयमा रहेका व्यक्तिहरूले नै समाप्त पारेको पौडेलको कटाक्ष रहेको छ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई लोककथाले केन्द्रमा राखेको छ । रिमालले नै ओलीसँग पार्टीकै नेता तथा कार्यकर्ताहरूसँग भेट्न नदिएको भनेर आलोचना हुँदै आएको छ ।
ओलीले सचिवालयमा रहेका रिमालसहितका सीमित व्यक्तिहरूको घेरामा रहँदा र उनीहरूको मात्रै कुरा सुन्दा पार्टी तथा सरकार बद्नाम हुँदै गएको टिप्पणी हुँदै आएको छ । नेकपाका नेता पौडेलले ओलीलाई सानो घेराभित्र मात्रै नबस्ने सुझाव दिएका छन् ।
नेकपाका नेता पौडेलले भनेका छन्, ‘एकादेशमा एक गुरू थिए । उनले तालिम दिएर राखेका दुइटा बाँदर थिए जो अह्राएको काम गर्थे । उनीहरू धेरै स्वामिभक्त थिए ।’ ‘एकदिन गुरूले भने, ए केटा हो ! म यो पिपलको छहारीमा आराम गर्छु । तिमीहरूले मेरो वरिपरि आउने झिँगा धपाउनु है ।’
‘गुरू मस्तसंग निदाए । एउटा झिंगो घरिघरि गुरूको नाकमा आएर बस्न थाल्यो । शुरुशुरुमा बाँदरहरूले स्याउलाले झिँगा धपाइरहेका थिए । कति गर्दा पनि झिँगो नियन्त्रण भएन, जति थपडी बजाए पनि मार्न सकिएन’, लोककथामा पौडेलले भनेका छन् ।
‘त्यसपछि स्वामिभक्त बाँदरहरूले नजिकै रहेको तरवार उठाएर झिँगोलाई काट्न भनी नाकमा बजारे । झिँगो त उडेर गयो, गुरूको नाकै काटियो’, नेकपाका नेता पौडेलले ओलीलाई आफ्नो सचिवालयबाट बच्न सुझाव दिँदै भनेका छन्, ‘बुद्धि नभएका स्वामिभक्तहरूबाट जोगिन पर्छ है ।’
नेकपाका नेता पौडेलले आफूले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस कसैप्रति लक्षित नरहेको बताएका छन् । रिपब्लिका दैनिकमा समाचार आएपछि नेता पौडेलले ‘यो आम कथा हो, कसैप्रति लक्षित छैन’ भनेर प्रतिक्रिया पठाएका छन् ।





















प्रतिक्रिया