नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५–०७६ मा सात अर्ब बढी नाफा कमाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सात अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन् । २०७४–०७५ मा प्राधिकरणले दुई अर्ब ९० करोड नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले एक सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो ।
प्राधिकरणले साँवा, ब्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्यरूपमा कमी ल्याएको छ । अघिल्लो वर्षको भन्दा ५ दशमलव १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलब १३ प्रतिशत छ । प्राधिकरणले गत आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ ।
पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले लामो समयदेखि रुग्ण बनेको अपर त्रिशूली ३ ‘ए’ तथा कावेली करिडोरलगायतका उत्पादनतर्फ एक, प्रशारणतर्फ तीन र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्ण आयोजनाहरू सम्पन्न भएको जानकारी दिए । उनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियानअन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए ।
















प्रतिक्रिया