एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरमा जाने निर्णय भएको छ । एनएमबी बैंकको मंगलबार बसेको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग गाभ्ने निर्णय गरेको हो ।
सो कुराको जानकारी सभा सम्पन्नपछि बैंकद्वारा मंगलबार जारी एक प्रेस विज्ञप्तिमार्फत दिइएको हो । मर्जपछि दुवै बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात (shar swap ratio) १००ः ७६ रहने स्वीकृति प्रदान साधारण सभाबाट भएको जानकारी पनि विज्ञप्तिमा दिइएको छ ।
बैंकिङ्ग तथा वित्तीय प्रणालीको संबद्र्धन गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्वको लागि निक्षेपकर्ता तथा लगानीकर्ताहरुको हितको संरक्षण गर्ने उद्देश्यले मर्जरमा जाने निर्णय गरिएको जनाइएको छ ।
मर्जरपछि बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गरी आधुनिक बैंकिङ्ग सुबिधा अझ प्रभावकारी हुने र व्यवसाय तथा शाखा सञ्जाल विस्तार गर्न, पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नमा प्रभावकारी योगदान पुर्याउन सक्ने विश्वास बैंकले लिएको छ । मर्जरमा जाने निर्णय विशेष साधारण सभामा सर्वसम्मतिमा भएको थियो ।
विज्ञप्तिमा जनाइएअनुसार ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् । एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा वृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ । निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले हालै घोषणा गरेको मौद्रिक नीतिमा मर्जरमा जाने बैंकहरुको लागि थुप्रै सुविधा घोषणा गरेको थियो ।
















प्रतिक्रिया