नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । आफूलाई पार्टी स्थायी कमिटिमा नराखिएको भन्दै उनले राजीनामा बुझाएको बताइएको छ । साहले मङ्गलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।
पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको साहको बुझाइ छ । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।
पछिल्लो पटक प्रदेश सदस्यहरुको चयन गर्दा समेत आफुसँग कुनै सल्लाह नगरेको साहको गुनासो छ । केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए ।
साहको राजीनामा स्विकृत भइनसकेको साहका प्रेस सल्लाहकार निभेष कुमारले बताएका छन् । शाह २ नं प्रदेशको क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनीधी सभा सांसद पनि हुन् ।





















प्रतिक्रिया