मकवानपुरको दुई ठाउँबाट गरी प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । राक्सीराङ गाउँपालिका वडा नम्बर(३, सरिखेत पलासे र हेटौंडा १५ रातोमाटेबाट प्रहरीले एक सय ३ केजी गाँजासहित पाँच जनालाई मंगलबार पक्राउ गरेको हो ।
पलासे बसपार्कबाट ८१ केजि ७६० ग्राम गाँजासहित १ जना पक्राउ परेका हुन् । गाँजासहित पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर(९ बस्ने ४० वर्षीय घुरन साहलाई रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताए ।
मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलीले ४ वटा प्लास्टिकको बोरामा गाँजा प्याक गरेर गाडी कुरिरहेको अवस्थामा फेला पारेर बरामद गरेको हो । यसैगरी रातोमाटेबाट कारमा राखेर निकासी गर्न लागिएको अवस्थामा २१ केजी ५ सय ग्राम गाँजा बरामद गरेको हो । कारसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी सिंहले जानकारी दिए ।
कार र गाँजासहित भारतको मोतिहारी, नयाटोल बस्ने २५ वर्षीय कार चालक मुकेश सहनी, कारमा रहेका त्यसै ठाउँका २५ वर्षिय राज कुमार, मोतिहारी चिन्तामनपुरको हरीसिद्धि बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र नेपालकै पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका(५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट विरगन्जतर्फ जाँदै गरेको एच आर ५१ एल ५२४१ नम्बरको भारतीय कारलाई शंका लागेर जाँच गर्दा कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर प्लाष्टिकको पोकामा लुकाइएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया