घटस्थापनाको तेस्रो दिन । असोज महिना । काठमाडौंमा गर्मी केही घटेपनि ज्याकेट लगाइहाल्नु पर्ने चाहिं थिएन । दशैमा घर जाने निश्चित गरेर असोज ७ गतेनै गोंगबुको नयाँ बसपार्कबाट अग्रिम टिकट बुकिङ गरिसकेको थिएँ ।
१४ गते दिउँसो १ बजे ब्यागमा ल्याप्टब, मोबाइल चार्जर र केही थाना कपडा हालेर नयाँ बसपार्कतिर लागेँ । बस ३ बजे छुट्ने भनिएपनि हामीलाई २ बजे नै बसपार्क आईपुग्न निर्देशन टिकटमै दिइएको थियो । सोहीअनुरुप अलिक छिटो पुग्न हिँडे । टिकट बटलियन यातायातको थियो । तर बस हिमाल यातायातको रहेछ ।
दुई बजेर २० मिनेटमा म गाडीभित्र छिरेँ । मेरो सिट थियो बि साइडको ६ नम्बर । गएर आफ्नो सिटको माथि र्याकमा झोला घुसाएँ । सीटमा बसेँ । लेखिएअनुसार बस छुट्न अझै ४० मिनेट थियो । यो चालिस मिनेटको अवधिमा गाडीभित्र म बसेको सीट ‘मेरो हो’ भन्दै दाबी गर्न दर्जन बढी मानिस आए ।
दावी गर्ने सबैलाई मैले सम्झाएँ । भनेँ, काउन्टरमा बस्नेले टिकट दोहोरो काटेछन् उता कुरा गर्नुहोस् । उनीहरु उतै गए । के कुरा गरे तर फर्केर आएनन् । दाबी गर्नेमध्ये आधा जतिचाहिं अबुझ थिए । उनीहरु मैले पो दोहोरो टिकट लिएको जस्तरी मैसँग जाइलाग्दै थिए । म भने चुपचाप सिटमा बसिरहेँ । उनीहरु फर्किए । एउटै बसमा एकै सिटमा धेरैवटा टिकट बस काउन्टरले काटेको थियो । मेरो केही दोष थिएन । बरु चाँडै गएर सिट मैले बसेर ठीक गरेछु जस्तो मनमनै लाग्यो ।
यस्तै समस्या अन्य सिटकाले व्यहोरिरहेका पाएँ । सिटका भरियो र ३ बजेर २० मिनेटमा गाडी स्टार्ट भयो । तैपनि म बसिरहेको सिट मेरै हो भन्दै मान्छेहरु आउने क्रम रोकिएन । सिट दाबी गर्न आउने यात्रु र सिटमा बसिरहेका यात्रुले काउन्टरका मान्छेलाई सम्झँदै लाई गाली गरे ।
गाली पनि किन नगरुन् । म स्यम् यस्तो समस्या झलेर यात्रा गर्न लागेको सात÷आठ वर्ष भइसकेको थियो । यो अवधिमा गणतन्त्र आयो, सरकारले सिन्डिकेट हटाउने निर्णय गर्यो । तर व्यवहारमा केही पनि परिवर्तन भएको अवस्था छैन ।
झगडाकै बिचमा गोगंगाबु बसपार्कबाट गाडी थानाकोटतिर अगाडि बढ्यो । झगडा गर्ने कतिपय यात्रु बसपार्कमै झरे । कतिपय यात्रु मुडामै बसेर रुकुम पुग्ने सहाससाथ गाडीभित्र बसे । काठमान्डौ बाट साढे तीन बजे छुटेको गाडी धादिङ गजुरी पुग्दा टायरमा समस्या आयो । गाडी रोकियो । त्यहाँ एक घण्टा भन्दा बढी लाग्यो गाडी कन्डिसनमा आउन ल्याउन ।
त्यसपछि गाडीमा विभिन्न समस्या देखिन थाले । एउटा जिल्ला पार गर्दा एउटा समस्याजस्तै पर्न थालियो । समस्या झेल्दै गाडी भोलिपल्ट बिहान ९ बजे बाँकेको कोहलपुर पुगियो । मेरो सपना, आशा र मुटुको शहर थियो कोहोलपुर ।
आफूले ज्यादै आशा गरेको मान्छे चाहिंं कोहलपुर छोडेर दशैं मनाउन घोराही गएको थाहा पाएँ । यसकारण भेट हुन पाइनँ । गाडी कोहोलपुरमा अधा घण्टा जति रोकियो । गाडीमा कसैले कसैको वास्ता गरेका थिएनन् ।
म पनि डोल्पा घुम्न निस्केको एउटा नेपाली पर्यटकलाई लिएर चिया खान चिया पसलतिर लागे । दुई जनाले चार कप चिया खाइएछ । चालकले गाडी स्टार्ट गरेर हरन बजाए । हामी चार कप चियाको ६० रुपैयाँ तिरेर चिया पसलबाट निस्कियौं ।
गाडी चप्परगौडी छोडेर कोहलपुर चोकतिर अगाडि बढ्यो । म भने केही खल्लो महसुस गर्दै कोहोलपुरबाट गाडी सँगै सुर्खेततिर लागेँ । दिउँसो १ बजे हामी चढेको गाडी सल्यानको बालुवासंग्रहीमा पुग्यो । बिहानको खाना यही खाने भनेर कुरा भयो । होटेलतिर लागेँ । आन्तरिक पर्यटक चाँही कता छुट्यो मैले भेउ पाउन सकिनँ । शायद अर्को होटेलतिर लाग्यो होला । यही सोचेर म खाना खान टेवुलमा बसे ।
गाउँका होटेल घर जस्तै हुन्छन् । ति होटेलका खानामा मलाई आफनै घरको स्वादको आभास आयो । गाउँका होटेलका साहुहरु धादिङदेखि रुपन्देहीको हाईवेमा बसेका जस्ता ठग पनि हुँदैनन । २० रुपैयाँ पर्ने पानी ४० । वाइवाई चाउचाउलाई ३० र सामान्य खानालाई ३ सय पनि लिदैनन् यहाँ । साह्रै सोझा र इमान्दार ।
खाना खाएर सल्लिबजारतिर लाग्यौं हामी । सल्लिबजार, राकम, जाजरकोट हुँदै ३१ घण्टापछि राति १० बजे म जन्मथलो रुकुम पुगे । नौ दिन गाउँमा बिताए । नौ दिनको अवधिमा धेरै नौला तथ्यहरु थाहा पाएँ । दशैंको महत्व घटेदेखि गाँउ रित्तिएको पनि मैले बुझेँ । दशमीको दिनको टीकाको महत्व घटेको पनि मज्जाले बुझेँ । अधिकांश युवाहरुले गाउँ छोडेका थिए । गाउमा भएका प्राय युवा पनि कुलततिर फसेका देखियो । मेरा बुढा बा र आमलाई खेती गर्न पनि मुश्किल भएको कुरा थाहा पाएँ । खेती गर्न मुश्किल भएका मेरा बा आमा गाउँका प्रतिनिधि पात्र थिए ।
मेरा बा–आमा जस्तै मुश्किल हुँदा पनि गाँउ छाडेका अरु बा आमा पनि थिए । गाँउबाट शहर आउनुभन्दा अघिल्लो दिन बा आमालाई सघाउन बारीमा मकैका बोटहरुको टौवा बनाउन र मकैको बोटलाई त्यहाँ राख्न सहयोग गरेको थिएँ । जन्मेदेखि त्यसरी बारीमा कहिल्यै काम गरेको थिइनँ । त्यसको असर बेलुका सुत्दा देखियो । शरीर दुखेर रातभर निदाउन सकिनँ । रातभर सोचिरहेँ । त्यस्तो काम गर्ने आमाको छोरा यस्तो कसरी भए भनेर । उज्यालो भयो । प्रत्येक बिहान उज्यालो सँगै मेरो कोठामा राजु नाउँको कुकुर आउँथ्यो । त्यसलाई मैले नै एक बर्ष अगाडि काठमाडौंबाट लगेको थिएँ । त्यो बेला राजु १५ दिनको थियो । अहिले त उसले पनि हाम्रो घरमा छुट्टै स्थान पाएको छ ।
प्रत्येक हप्ता आमाले नुहाउँदा राजुलाई पनि नुहाइदिनुहुन्छ । त्यो दिन बिहान ब्वाइलर काटेर मासु पकाई गँहुको रोटी बनाउनु भएको रहेछ । एउटा ठूलो बटुकाभरि ब्वाइलरको मासु र थालमा रोटी राखेर आमाले मलाई खाना दिनुभयो । करिब १५ दिन जति भएको थियो मासुमा मेरो मन जान छोडेको । एक बटुका मासुबाट तीन टुक्रा मासु मात्रै खाएर केही रोटी त्यही मासुसँग निले ।
आमाले त्यो देखेर साह्रै पिर गर्नुभयो । एता शहरमा बिरामी पर्दा पनि त्यस्तो पिर गर्ने मान्छे भेटिदैनन् । बिहानको ८ बजिसकेको थियो बा–आमासँग बिदा भएर काठमाडौं आउने तयारीमा थिएँ । आमाले जाऊ हिँड परसम्म पु¥याईदिन्छु भन्नुभयो । बालाई सञ्चो नभएकोले पुर्याउन पर्दैैन भनेँ ।
मेरो घरका छिमेकी दाईले भर्खर बिहे गर्नुभएको थियो । उनेल मलाई बस अझै दुई÷चार दिन भन्दै थिए । तर उनीसँग पनि बिदा मागेँ र आफ्नै सुरमा लागेँ । आमा मलाई पुर्याउन आधा बाटोसम्म आउनु भयो । त्यसपछि मैले अब पर्दैन जानुहोस् भनेर हातमा ढोग गरेँ । बालाई चाँही हतारमा ढोग बिर्सेंछु । त्यसपछि आमाले मैले नेटो नकाट्दासम्म हेरिरहनु भएको थियो । मैले नेटो काटेपछि भने आमा घर फर्कनु भयो होला, मनमनै सोचेँ ।
घरबाट दुई घण्टा पैदल हिंडेपछि बस चढ्ने ठाउँसम्म पुगियो । काउन्टरमा गएर टिकट लिएँ । बस ११ बजेको थियो । बस साढे एघार बजे गुड्यो । रुकुमको राडिज्युलाबाट जाजरकोट रिम्ना आउँदा बसमा समस्या देखिन थाल्यो । समस्या देखिएपनि बस गुडिनैरह्यो । रिम्नाबाट २ किलो मिटर जति अगाडि बढेपछि रोकियो । बसको हावा पास गर्ने पाइप प्वाल पर्यो भन्ने कुरा हामीले बसका स्टाफबाट थाहा पायौं ।
हाम्रो गाडी बिच सडकमा बिग्रिएपछि काठमाडौंबाट रुकुमका लागि आएका गाडीहरु पनि रोडमै लाइन लागे । करिब २ घण्टापछि प्वाल टालेर हामी त्यहाँबाट गन्तब्य काठमाडौं । दुई किमि मिटरको दूरीमा त्यसको प्वाल टाल्नुपर्ने समस्या आइप¥यो ।
हामी आएको बसमा २ जना विदेसी नागरिक पनि थिए । उनीहरु मौन थिए । बिहान ६ बजे सपनाको शहर कोहोलपुर पुगियो । हाम्रो नियमित यात्रामा राति १० बजे कोहोलपुर पुगिन्थ्यो तर गाडीको कारण बिहान पुगियो । त्यसपछि ८ बजे लमही, १ बजे रुपन्देही, ३ बजे बुटवल हुँदै ४ बजे चितवन पुगियो । चितवनबाट धादिङको धार्के पुग्न हामीलाई ३ घण्टा लाग्यो । ६ बजे धर्के पुगेका हामी जामका करण राति ११ बजे काठमाडौं पुग्यौं ।





















प्रतिक्रिया