Logo

अनलाइनपाना खोज

पहाडि समुदायको भाईटिकाको दिन रानाको दिवारी



चारैतिर तिहारको रोनक छाएको छ । हिन्दु धर्मावलम्बिहरु सबैजना तिहारमा रमेका छन् । तर, राना समुदायलाई भने अहिले सम्म पनि तिहारले छुन सकेको छैन् । उनीहरुको तिहार मनाउने तरीका नै भिन्न छ । राना समुदाय तिहारलाई दिवारीका रुपमा मनाउने गर्छन् । उनीहरुको मनाउने तयारी पनि फरक छ ।

धनगढी उपमहानगरपालिका १३ राजपुरका भानुप्रताप रानाले भने ‘रानाहरुको मुख्य चाड होली पछिको दिवारी हो । यो पर्व पहाडि समुदायको भाइटिकाकै दिन पर्ने भएपनि हामीहरु यसलाई दिवारीका रुपमा मनाउने गर्छौं ।’ उनले केहि बर्ष यता भने राना समुदायमा पनि पहाडि समुदायका मानिसहरुको भाइटिका मनाउने प्रचलनको सिको भएको बताए । तर, राना समुदायको दिवारी मनाउने परम्परागत तरीका अलग हुने गरेको उनको भनाइ छ ।

रानाहरु दिवारीलाई २ दिन मनाउने गर्छन् । धनगढी नगरपालिका ८ का शंकर सिह रानाले गोबद्र्धन पुजा र दिवारीलाई बडो हर्षोउल्लासका साथ मनाउने गरेको बताए । उनले गोबद्र्धन पुजालाई राना समुदायमा खिच भनेर मनाइने गरेको बताए । शंकर भन्छन्, ‘यसदिन गोरुलाई खेतमा लग्न पाइ“दैन् । गोरुलाई जोत्न लगे भने पाप लाग्ने विस्वास रहेको छ ।’

यस दिन गोरुको तिहारका रुपमा उनीहरु लिने गर्छन् । त्यसैले गोरुलाई माया प्रेम गरेर, विहानै नुहाइधुवाइ गर्ने गर्छन् । पेटभरि मिठो खाना र घा“स दिन्छन् । उनीहरुको सिङमा पनि रंग लगाइने गरेको उनले बताए । जसले खिच (गोवद्र्धन) र दिवारीका दिन खेतमा गोरुलाई जोत्न लग्यो उसलाई गाउ“को नियम अनुसार १ सय २ सय जरिवना तिराइने गरेको शंकरले बताए । यस दिनमा कोदालीले भने खेत खन्न पाइने गरेको उनले सुनाए ।

दिवारी अर्थात भाइटिकाका दिन उनीहरु मध्यरातमा उठेर सुपालाई बजाएर ‘ईश्वर आ दलिद्दर जा’ भनेर गाउ“दै घरको परिक्रमा गर्ने गर्छन् ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाले विहान उठेर नुहाइधुवाइ गरेर देवताको पुजा गर्ने गरेको बताइन् । ‘किसानहरु यस दिन कुल देवता र बैलगाडीको पुजा गर्ने गर्छन् ।’ यसदिन बलि चढाउनेहरुले कुल देवतालाई कुखुरा चढाउने गरेको उनले बताइन् । पुजा गरिसकेपछि उनीहरु गाउ“भरिका मानिसहरुलाई आफ्नोमा खाना खान निम्ता दिने गर्छन् । निम्ता दिइसकेपछि सबैजना एक अर्काको घर खाना खान जान्छन् । मालामतीले भनिन्, ‘गाउ“मा कसैको कसैप्रति रिस भाव नरहोस भन्नका लागि पुर्खौ देखि खानाको निम्ता दिने चलन रहिआएको हो । यसदिन सबैजना एकअर्कासंग बसेर रमाइलो गरि खाना खान्छन् ।’

अन्य समुदायमा यसदिन भाईको पुजा गरिने गरेको भएपनि राना समुदायमा भने सरस्वती माताको पुजा गर्ने गरिन्छ । भानुप्रतापले भने ‘दिवारीमा सरस्वती माताको पुजा गर्नाले ज्ञान हासिल हुने, घरमा सुखशान्ति हुने विस्वास रहि आएको छ ।’ यसलाई उनीहरु नया“ बर्षका रुपमा पनि मनाउने गर्छन् । कमैया राख्ने प्रचलन रहेका बेला राना समुदायका जमिनदारहरु दिवारीमै कमैयाहरुलाई नियुक्त र बर्खास्त गर्ने गर्दथे । सोहि ठाउँमा काम गर्न चाहनेलाई पुर्नबहाली गर्ने गर्थे ।

उनीहरु देउसी भैली खेल्दैनथे । तर हिजोआज देखासीखीमा खेल्न थालेका छन् । अहिले दाजुभाईलाई पुजा गरेर माला लगाउने पनि गरिन्छ । प्रायः राना समुदायको परम्परागत दिवारी मनाउने प्रचलन हराउन थालेको छ । उनीहरुमा आधुनिकताले प्रभाव पारेको छ ।

थारु समुदायमा पनि तिहारको सिको

पछिल्लो समय थारु समुदायमा पनि तिहार मनाउन थालिएको छ । तिहार उनीहरुको परम्परागत पर्व नभएपनि पहाडि समुदायको प्रभावका कारण उनीहरु पनि विधि पूर्वक भाईटिका मनाउन थालेका छन् । ‘पहिले पहिले हामीहरु भाईटिका मनाउँदैनथ्यौं । देउसी भैलो पनि खेल्दैनथ्यौं’ धनगढी ५ का आशुँ चौधरीले भने ‘अहिले सबैजना तिहार र भाईटिका मनाउन थालेका छौं ।’ चौधरी समुदायमा गोबद्र्धन पुजाका दिन गोरु पुजा भनेर गोरुलाई मिठो खानेकुरा भने दिइन्थ्यो ।

उनीहरु बिभिन्न प्रकारका अन्न भुटेर गोरुलाई मिठो घाँस खुवाउने गर्छन् । धनगढी उपमहानगरपालिका ८ का नरेन्द्र चौधरीले भने ‘हामीहरुको चलनमा भाई टिका हुदैन । केहिले गोरुको पुजा भने गर्ने गर्थे । पछि विस्तारै चौधरीहरु पनि भाईटिका लगाउन थालेका हुन् । उनीहरु जौ, गहुँ आदी भुटेर गोरुलाई खुवाउने गर्थे । जसलाई उनीहरुको भाषामा तिरो भन्ने गरिन्छ ।

मंगलबार सबैतिर भाईटिकाको चहलपहल सुरु भएको छ । सबै जना आ –आफ्ना दाजुभाईलाई टिका लगाउने तयारी गरिरहेका छन् । पहाडी समुदायका हिन्दु धर्मावलम्बिहरुको लागि तिहार दसैं पछिको ठुलो महान चाड हो । उनीहरु यसदिनलाई हर्षोउल्लासका साथ मनाउने गर्दछन् । पछिल्लो समय यसको प्रभाव थारु, चौधरी समुदायमा पनि देखिन थालेको छ । उनीहरु पनि तिहारलाई रिति पुर्याएर मनाउन थालेका छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलवार ०४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।